सुसाउदै गरेको तमोर नदि पाउमा छन् भने शिर आकाश झै देखिन्छ,वरिपरि हरियाली पर पर देखिएका बस्ती अनि सदरमुकाम हेर्दै घुम्न सकिने थाक्ले कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिले गर्दा सुनसान छ । यो क्षेत्रमा घुम्न आउने,पुजापाठ गर्नेको उलेख्य संख्यामा चहलपहल हुने यो क्षेत्र अहिले भने सुनसान छ।
पाँचथर जिल्लाको फिदिम नगरपालिका ४ मा पर्ने यो ठाउँमा हरियाली छाएको छ । सदरमुकाम फिदिमबाट मेचीराजमार्गहुदै जोरसालबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग हुदै थाक्ले जान सकिन्छ । यो मन्दिर क्षेत्र ऐतिहासिक धार्मिक महत्व बोकेको तथा सदरमुकाम नजिकै रहेर पनि पर्याप्त बिकास हुन सकेकोे छैन ।
एक अर्कासँग ठोकिएका घोर्ला र सल्लाका आवाज, फरफर उडेका द्योजा र घन्टिको आवाज आनन्द दिलाउने थाक्ले मन्दिरको छुटै बिशेषता रहेको छ । मन्दिरको परिसरमा रहेको गुफा मान्छे र बाघ सगै देखेपछी पात टिप्न आएको मान्छेले देखेपछि गाउँभरिका मान्छे भेला भएर बाघ हराएपछि पुजाँ गर्न थालिएको किनवदन्ती रहेको पाईन्छ । गाउँका बाख्रा हराएर खोज्दै जादा यहि गुफामा हराउने भन्ने थाहापाए पछि त्यो दिन बाट यो ठाउँमा देबिको उपासना हुन थालेको किम्बदन्ती पनि रहेको छ।
सूचना प्रविधिको विकास नभएको बेला थाक्लेलाई सूचना दिने ठाँउको रुपमा लिईने गरेको बताईन्छ । पारीपारीका विभिन्न ठाँउमा आगो बालेर घुवा संकेत दिएर केही परे मिटिङ गर्ने इतिहास रहेको समेत बताईन्छ । यहाँ सिंहदेबिको मन्दिर, महादेव थान रहेका छन् । पाथिभरा मन्दिर निमार्ण क्रममा छ । झाक्री थान,सिंहदेबिगुफा पनि मन्दिर परिसर मै रहेका छन । महागुरु फाल्गुनन्द,यलम्बर,महारानी बुढि बजुको मुर्ती ढुङ्गामा खोपिएको छ । यहाँ नजिकै बुद्धको मुर्ति बनाउनका लागि योजना अघि सारीएको छ ।
धार्मिक महत्व तथा प्राकृतिक रुपमा सुन्दर यो क्षेत्र भित्र कलात्मक ढंगबाट कुदिएका हस्तकलाले अझ सुशोभित देखिएको छ । सदरमुकाम नजिकै भएको धार्मिक स्थल भएकाले यो क्षेत्रको विकास गरी महत्पूर्ण धार्मिक केन्द्रको रुपमा विकास गर्न सकिन्छ । यसका लागि स्थानीय सरकारको ध्यान पुग्न आवश्यक छ ।