पाँचथर । पाँचथरको फिदिममा मगर समुदायको मुख्य पर्व माघे संक्रान्तिको अवसरमा रैथाने खाना महोत्सव आयोजना हुने भएको छ। महोत्सव फिदिमस्थित जिल्ला समन्वय समिति परिसरमा आयोजना गरिने नेपाल मगर संघ जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष योवन थापा मगरले जानकारी दिए।
महोत्सवमा मगर समुदायका परम्परागत रैथाने खानाको प्रवर्द्धनसँगै यस क्षेत्रका विभिन्न जातजाति तथा समुदायका मौलिक खानाका परिकारहरू पनि उपलब्ध गराइने आयोजकले जनाएको छ। महोत्सवका लागि ५० भन्दा बढी प्रकारका रैथाने तथा परम्परागत खानाका परिकार प्रस्तुत गर्ने तयारी गरिएको छ भने सबै स्टलहरू निःशुल्क रूपमा व्यवस्था गरिएको छ।
रैथाने खानाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई परम्परागत खानासँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष थापा मगरले बताए।
फिदिम नगरपालिकाको प्रवर्द्धनमा आयोजना हुन लागेको महोत्सवबारे जानकारी दिन बुधबार फिदिममा पत्रकार सम्मेलनसमेत आयोजना गरिएको थियो। संघका सचिव प्रेम केप्छाकीका अनुसार यो कार्यक्रम जिल्लाका लागि नयाँ अभियान हो। उहाँले मगर समुदायको मात्र नभई सबै जातजाति र समुदायले यसलाई साझा खाना महोत्सवका रूपमा लिनुपर्ने बताए। तयारी पनि सोहीअनुसार भइरहेको आयोजकले जनाएको छ।
पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले प्रयोग गर्दै आएका परम्परागत तथा रैथाने खानाका परिकार महोत्सवका मुख्य आकर्षण हुनेछन्।
मगर समुदायले माघे संक्रान्तिलाई आफ्नो प्रमुख चाडका रूपमा मनाउँदै आएको छ। यसै अवसरमा मिनाम सार्ल्हेस ५०१९ को उपलक्ष्यमा महोत्सव आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार विगतका वर्षमा मनाइने उत्सवभन्दा यस वर्षको कार्यक्रम खानाको प्रदर्शनी र प्रवर्द्धनमा विशेष रूपमा केन्द्रित हुनेछ।




