झापा । झापाको दमकमा प्रहरीमाथि आक्रमण, ढुंगामुढा, तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न सात जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुई जना पाँचथरका रहेका छन्।
भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकमाथि भएको आक्रमणपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विभिन्न स्थानका सात जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, हातहतियार लुटपाटमा संलग्न इलाम चुलाचुली गाउँपालिका–३ का १९ वर्षीय सुजल राई र दमक नगरपालिका–७ का १९ वर्षीय गणेश शर्मालाई पक्राउ गरी हातहतियार तथा खरखजना र चोरी–डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
त्यस्तै, कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनीमा संलग्न पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भई दमक–१ बस्ने २१ वर्षीय साजन लुहागुन, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलाम चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी, दमक–१ का ३४ वर्षीय दिपचन महतो र दमक–६ का २४ वर्षीय लोमस कटुवाललाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा सशस्त्र प्रहरी बलको SLR राइफल लुटपाट प्रकरणमा पाँचथर फाल्गुनन्द गाउँपालिका–७ घर भई दमक–३ बस्ने १७ वर्षीय आदित्य लिम्बुलाई पक्राउ गरिएको छ। उनलाई हातहतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरु पनि पहिचान भइसकेको र खोजी कार्य जारी रहेको जनाएको छ।




