काठमाडौं : नेपालमा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ को नयाँ म्युटेसन फेला परेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेपछि धेरैमा यसबारे चासो बढेको छ। नबढोस् पनि किन? संक्रमितको संख्या क्रमश: ओरालो लागिरहेर जनजीवन पहिलेकै अवस्थामा फर्किने अपेक्षा गरिरहेको बेला गएको सोमवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै डेल्टा भेरियन्टको परिस्कृत रुप ‘डेल्टा प्लस’ म्युटेसन भेरियन्ट फेला परेको जानकारी दियो।
नेपालका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमूना परीक्षणका लागि पठाइएको थियो। जसमध्ये ४७ वटामा डेल्टा भेरियन्ट एउटामा अल्फा भेरियन्ट देखिएको थियो। डेल्टा भेरियन्ट देखिएका कूल नमुना स्वाबमध्ये ९ जनाको स्वाबमा डेल्टाको उत्परिवर्तित रुप (K417N mutation) पुष्टि भएको थियो। AY.1 दिइएको यो म्युटेसन नेपालसहित विभिन्न १० देशमा देखा परिसकेको छ।
नेपालमा हाल डेल्टा (इन्डियन भेरियन्ट) र अल्फा (युके भेरियन्ट) देखिएको छ। यी भेरियन्टलाई डब्लुएचओले भेरियन्ट अफ कन्सर्नको रुपमा सूचीकृत गरेको छ। त्यस्तै इन्डियन भेरियन्टकै रुपमा रहेको अर्को काप्पा भेरियन्ट पनि नेपालमा देखिएको भए पनि यो त्यति संक्रामक नभएकोले त्यसलाई डब्लुएचओले भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा राखेको छ।
म्युटेसन कहिले भेरियन्ट बन्छ?
हाल नेपालमा पहिचान भएको भनिएको K417N म्युटेसनलाई भेरियन्टको सूचीमा राखिएको छैन। भाइरसले आफूलाई निरन्तर रुपमा उत्परावर्तित गर्ने गर्छ। यदि, यो परिवर्तन तिब्र रुपमा बढ्दै गयो भने यसलाई भेरियन्टको रुपमा लिने गरिन्छ। जस्तो कि सुरुमा युकेको केन्टमा देखिएको अल्फा र दक्षिण अफ्रिकामा देखिएको बेटा भेरियन्ट। म्युटेसन कहिले भेरियन्ट बन्छ भन्ने सर्वमान्य वैज्ञानिक परिभाषा भने छैन।
त्यसका लागि भाइरसको परिवर्तन र अधिक संक्रमण भने कुर्नुपर्छ। त्यसपछि भाइरसको प्रतिरुपको पहिचान गर्न सकिन्छ। म्युटेसनले भाइरसको जेनेटिक सेक्वेन्समा हुने वास्तविक परिवर्तनलाई जनाउँछ। त्यही भेरियन्टले मुल भाइरसको परिवर्तित भाइरसलाई जनाउँछ। भेरियन्ट मुल भाइरस भन्दा एक वा बढी म्युटेसनले फरक पर्ने डब्लुएचओको परिभाषामा उल्लेख छ।
म्युटेसनले भाइरसलाई अधिक सरुवा बनाउने र रोगलाई थप घातक बनाउने छ। जब भेरियन्टले मानव स्वास्थ्यलाई जोखिम बढाउँदै गए त्यसलाई भेरियन्ट अफ कन्सर्नको रुपमा डब्लुएचओले वर्गीकरण गर्छ।
हालसम्म नेपालमा देखिएको म्युटेसनलाई भेरियन्ट नाम नदिइए पनि पब्लिक हेल्थ इङल्याण्डले यसलाई ‘स्पाइक म्युटेसन अफ इन्ट्रेस्ट’को रुपमा राखेको छ।
स्पाइक प्रोटिनमा भएको परिवर्तन यसअघि दक्षिण अफ्रिकी भेरियन्ट बेटामा पनि देखिएको थियो। त्यही परिवर्तनले बेटा अन्य भेरियन्ट भन्दा भ्याक्सिनप्रति बढी रेसिस्टेन (प्रतिरोधी) भएको मानिन्छ। नेपालमा पुष्टि भएको म्युटेसनमा पनि त्यस्तै परिवर्तन डेल्टाको स्पाइक प्रोटिनमा भएको हो।
हाल यो म्युटेसन (डेल्टा प्लस) भारतका विभिन्न राज्यमा पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतको केरला, महाराष्ट्र, पञ्जाब, तमिलनाडु र मध्ये प्रदेशमा यसको संक्रमण पुष्टि भइसकेको छ।
डेल्टा भेरियन्ट आफैमा पनि अधिक संक्रामक छ। डेल्टा भेरियन्ट आफैमा पनि डबल म्युटेसन (E484Q र L452R) रहेको छ। सोही भेरियन्टमा थप एक म्युटेसन पुष्टि भएको हो। त्यसैले पनि यसलाई चासोका साथ हेरिएको छ।
विश्वभर डेल्टा प्लसको सेक्वेन्सिङ कम भएको छ। हालसम्म २०० वटा सेक्वेन्स विश्वभर पुष्टि हुँदा ३० भारतमा मात्र पुष्टि भएका छन्।
के यो ‘नेपाल भेरियन्ट’ हो?
नेपालमा हाल पहिचानमा भएको र अन्तर्राष्ट्रिय मिडियामा ‘नेपाल भेरियन्ट’ भनेर चर्चा गरिए पनि यो नेपाल भेरियन्ट होइन। डेल्टा भेरियन्टमा थप म्युटेसनसहित देखा परेको यो म्युटेन्ट K417N हो। भाइरसको विशिष्ट स्पाइक स्पाइक प्रोटिनमा परिवर्तन भएको हो र जुन यसअघि दक्षिण अफ्रिकी भेरियन्ट भनिएको बेटामा पनि देखिएको थियो।
जुन ३ सम्म, जीआईएसएआईडी डाटाबेसमा ९१ वटा डेल्टा+ K417N देखिएका थिए। जसमध्ये बेलायतमा ३६, पोर्तुगलमा १२, अमेरिकामा १२, जापानमा १४ (जसमध्ये १३ नेपालबाट यात्रा गरी एयरपोर्ट क्वारेन्टाइनमा रहेकाबाट संकलन गरिएको नमुना), र भारतबाट ४ रहेको थियो।
बेलायतले नेपाल भेरियन्ट अफ कन्सर्न र भेरियन्ट अफ इन्ट्रेस्ट पुष्टि नभएको बताएको थियो। अप्रिल २६ मा AY.1 का पाँच केस सेक्वेन्स गरिएकोमा जो नेपाल र टर्कीबाट यात्रा गरी आएकाहरुको सम्पर्कमा रहेका ब्यक्तिमा रहेको उल्लेख छ। जुन ७ सम्म बेलायतमा सेक्वेन्स गरिएका ३६ केसमध्ये ११ जना यात्रासँग जोडिएको जसमध्ये ६ यात्रु र ५ जना उनीहरुको सम्पर्कमा रहेका व्यक्ति भएको उल्लेख छ।
हाल यसलाई डेल्टा प्लस K417N डब्लुएचओको भेरियन्ट सूचीमा समावेश भइसकेको छैन।
K417N म्युटेसन भाइरसको स्पाइक प्रोटिन (भाइरसको सतहमा देखिने च्याउ आकारको प्रोजेसक्सन जसले भाइरसलाई मानव सेलमा प्रवेश गर्न सहयोग गर्छ) मा देखिएको हो।
डेल्टा प्लस कहिले पुष्टि भयो?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवारमात्र डेल्टा प्लस भेरियन्ट पुष्टि भएको वक्तव्यमार्फत् सार्वजनिक गरेको हो। यद्यपि, यो भेरियन्ट पुष्टि भएका नमुना भने गत वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न उमेर समूहका व्यक्तिहरुबाट छनोट गरेको हो।
नेपालमा भाइरसको जिन सेक्वेन्सिङ सुविधा नभएका कारण यसको पहिचानका लागि डब्लुएचओको नेपाल कार्यालय तथा दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित डब्लुएचओ आइडेन्टिफाइड सेन्टर फर एक्सिलेन्स जेनोनमिक, इन्स्टिच्युट अफ जेनोमिक एण्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)मा पठाइएको थियो।
जेठ २६ गते पठाइएको नमुनाको नतिजा सोमवार सार्वजनिक भएको हो। तर, यसअघि नै अन्तर्राष्ट्रिय मिडियामा यसलाई ‘नेपाल भेरियन्ट’ भनेर चर्चा गरिसकेका थिए। जुन २ (जेठ १९) गते बेलायतको डेली मेलले ‘नेपाल भेरियन्ट थ्रेट आवर होलिडे’ भन्ने समाचार प्रकाशित गरेको थियो।
त्यसको भोलिपल्ट नै डेली मेलले अर्को समाचार प्रकासित गर्दै सगरमाथा आरोहीबाट यसको संक्रमण फैलिएको भन्दै हिमालयदेखि जापानसम्म पुगेको समाचार प्रकाशित गरेको थियो।
जुन ३ मा नै बेलायतको वेलकम सान्जर इन्स्टिच्युटको कोभिड-१९ जेनोमिक इनिसिएटिभका निर्देशक डाक्टर जेप बर्रेटले ग्लोबल इनिसिएटिभ अन सेयरिङ अल इन्फ्लुएन्जा डाटा (जीआईएसएआईडी)को डाटाबेसमा बी.१.६१७.२ (डेल्टा) भेरियन्ट थप उत्परावर्तित रुपमा K417N म्युटेसन ९१ वटा सेक्वेन्समा देखा परेको बताएका थिए।
उनले यो म्युटेसन B.1.351/ बेटा पनि पाइएको थियो। यो भेरियन्ट भ्याक्सिनले पनि कम न्युट्रलाइज हुने देखिएको छ। जसका कारण डेल्टा बेटाभन्दा धेरै फैलिने खालको रहेको उनले बताएका छन्।
‘डेल्टा+ K417N बेलायत, पोर्चुगल, अमेरिका र भारतमा पनि देखिएको छ। यो नेपालमा पनि देखिएको थियो जहाँ एकदम कम सेक्वेन्सिङ हुन्छ,’ डाक्टर जेफले भनेका छन्, ‘जापानमा १४ पटक देखिएको थियो। जसमध्ये १३ नमुना नेपालबाट यात्रा गरी एयरपोर्ट क्वारेन्टाइनमा रहेकाहरुबाट संकलन गरिएको थियो।’
डेल्टा+ K417N लाई नेपाल भेरियन्टको रुपमा जुनको सुरुवातबाट चर्चा हुन थालेको हो। पहिलो पटक पोर्तुगललाई युकेले ग्रिन लिस्टबाट हटाएपछि यसको चर्चा भएको थियो। त्यतिबेला बेलायती सरकारले ‘नेपाल भेरियन्टको उदय’ भन्दै कारण देखाएको थियो।
बेलायती यातायात मन्त्री ग्रान्ट सेफले भनेका थिए- ‘यो निर्णय लिन गाह्रो थियो। यद्यपि, दुईवटा कुरा बेलायत सरकारको चासो हो। एउटा संक्रमण दर जुन पोर्चुगलमा पछिल्लो समीक्षाभन्दा दोब्बर भएको छ र अर्को त्यहाँ एक किसिमको (इन्डियन भेरियन्ट)को नेपाल म्युटेसन पहिचान भएका छन्।’
बेलायतबाट ‘नेपाल भेरियन्ट’ को चर्चा सुरु भएसँगै डब्लुएचओले नेपालमा कुनै पनि नयाँ भेरियन्ट पहिचान नभएको स्पष्ट पारेको थियो। उसले नेपालमा तीन भेरियन्टहरु अल्फा (B.1.17), डेल्टा (B.1.617.2) र कप्पा (B1.617.1) फैलिरहेको जसमध्ये धेरै डेल्टा फैलिरहेको बताएको थियो ।