झापा । एलभिडी झापा महिला गोल्डकपको प्रतिस्पर्धा अन्तिम चरणतर्फ अघि बढ्दै गर्दा बिहिबार दुधे रंगशालामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले आरएस पोखरा एफसीमाथि ६–० को फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।
यो जितसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ। खेलको सुरुवाती मिनेटदेखि नै आर्मीले मैदानमा पूर्ण नियन्त्रण जमायो। बल पोजेसन, पासिङ र मुभमेन्टका हिसाबले पोखरा भन्दा निकै संगठित देखिएको आर्मीले पहिलो नै क्षणदेखि विपक्षीलाई दबाबमा राख्यो। १०औं मिनेटमा फर्वार्ड विमला चौधरीले गोल गर्ने सुनौलो अवसर गुमाइन्।
पोखराकी गोलकिपर गायत्री मल्ल बिट भइसकेकी थिइन्, तर उनको सट गोल पोष्ट बाहिरियो। तर आर्मी गोल गर्न लामो समय कुर्नु परेन । १६औं मिनेटमा आर्मीले अग्रता बनायो। डिफेन्डर विमला बि.क.ले सेन्टर एरियाबाट लिएको फ्रीकिकमा जेनिफर राना मगरले सुन्दर हेडिङ गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन्।
खेलको ताल त्यसपछि पूर्ण रूपमा आर्मीको पक्षमा गयो। ३३औं मिनेटमा विमला चौधरीले पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै हेडर गोल गरिन्। असिस्टमा हिमा चौधरी थिइन्। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा राष्ट्रिय खेलाडी विमला बि.क.ले कर्नरमा आएको बललाई सानदार फिनिस गर्दै स्कोरलाइन ३–० मा पुर्याइन्।
दोस्रो हाफमा पनि खेलको नियन्त्रण आर्मीको हातमै रह्यो। पोखराले केही काउन्टर अट्याक बनाए पनि गोलकिपर कोपिला खड्काले सहजै नियन्त्रण गरिन्। ८५औं मिनेटमा विमला चौधरीले सन्जु कुमालको पासमा आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अग्रता दिलाइन्। खेलको अन्तिम चरणमा आर्मीको आक्रमण झनै तीव्र भयो। ९०औं मिनेटमा सर्मिला थापाले विमला बि.क.को क्रसमा गोल गर्दै स्कोरलाई ५–० बनाइन्।
त्यसपछि इन्जुरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडरमार्फत आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६–० को सहज जित दिलाइन्। खेलमा आर्मीको सामूहिक संयोजन, पासिङ, बल कन्ट्रोल र खेल पढ्ने क्षमताले पोखराको डिफेन्स लाइनलाई बारम्बार व्यस्त बनाएको थियो । पोखराको खेलमा लयको अभाव र पोजेसनमा अस्थिरता स्पष्ट देखियो। विजेता टोलीका लागि विमला चौधरीले ह्याट्रिक, विमला बि.क., जेनिफर राना र सर्मिला थापाले समान एक–एक गोल गरे।
खेलकी ‘प्लेयर अफ द म्याच’ विमला चौधरी घोषित भइन्। उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन्। यो जितसँगै आर्मीले सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनल खेल भोलि (कात्तिक २१ गते) संकटा क्लब काठमाडौं र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिँदै आएको छ।




