पाँचथर । लगातारको वर्षा र त्यसपछिका बाढी–पहिरोका कारण पाँचथरमा कोशी प्रदेश सरकारको लगानीमा बनेका विभिन्न पूर्वाधारमा करिब ५७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। पूर्वाधार विकास कार्यालय, पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिंहका अनुसार बाढी र पहिरोले जिल्लाभित्रका पुल, सडक र अन्य संरचनामा ठूलो क्षति पुर्याएको हो।
सिंहले बताएअनुसार, पछिल्लो अवलोकनअनुसार १८ वटा झोलुङ्गे पुलमा करिब १५ करोड ५० लाख, ६ वटा सडक पुल र कलभटमा १० करोड, र विभिन्न ७ वटा सडक खण्डमा ३२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। कुल ५७ करोड ५० लाख बराबरको भौतिक क्षति भएको उनले जानकारी दिए।
विपद्ले जिल्लाका धेरै सडकहरू अवरुद्ध बनाएको भए पनि पूर्वाधार विकास कार्यालय, पाँचथर सक्रिय रहँदै सडक सञ्चालनमा ल्याउने प्रयासमा जुटेको छ। बुधबार दिउँसो १ बजेसम्मको विवरण सार्वजनिक गर्दै प्रमुख सिंहले अधिकांश प्रदेशिक सडकहरू सञ्चालनमा आइसकेको जानकारी दिए।
फिदिम–फालोट सडकखण्डमा फेमे खोलासम्म आंशिक रूपमा पहिरो पन्छ्याएर सवारी सञ्चालन भइरहेको छ। फेमे खोलामा बुधबारबाट डाइभर्सनमा ह्युम पाइप जडान गरी पहुँच मार्ग निर्माण कार्य सुरु गरिएको छ। त्यस्तै, शिवालय–रानीटार–लुङरुप्पा–गोरुवाले सडक नाम्दु खोलासम्म सञ्चालनमा आएको छ।
नाम्दु खोलामा स्थानीयको श्रमदान र कार्यालयको प्राविधिक सहयोगमा बाँसको फड्के पुल निर्माण भइरहेको छ। शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक, सरखण्डे–यासोक सडक, मौवा–लखुवादोभान सडक र बरडाँडा–साबलाखु सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन्।
सिंहले भने, “स्थानीयको सहयोगमा सडक सञ्चालन र मर्मत कार्य तीव्र रूपमा अघि बढिरहेको छ। बाढी र पहिरोले पुर्याएको क्षति ठूलो भए पनि पुनःस्थापनाको काम जारी छ।”
सडक अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको थियो। विद्यालय जाने विद्यार्थी, बिरामी र खाद्यान्न ढुवानीमा समस्या देखिएको थियो। अहिले सडक खुल्न थालेसँगै स्थानीयहरूमा केही राहतको अनुभूति भएको छ।
पूर्वाधार विकास कार्यालय, पाँचथरले विपद्पछिको पुनःनिर्माण कार्यमा सतर्कता अपनाउन र वर्षा तथा पहिरोको जोखिम न्यून गर्न स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।