पाँचथर । असोज १८ गते राति परेको अविरल वर्षाका कारण पाँचथरको फिदिम नगरपालिका–१ र ११ सिमानास्थित फेमे खोलामा पानीको बहाव बढेर डाइभर्सन र हेम–पाइप बगाउँदा फिदिम–१०, ११, १२ र १३ वडासँगै फालेलुङ गाउँपालिका–६ र ७ वडाको पनि सदरमुकाम फिदिमसँगको यातायात सम्पर्क विच्छेद भएको छ।
डाइभर्सन बग्दै जाँदा स्थानीय बासिन्दा जीवन कष्टकर बनेको र आकस्मिक सेवा प्रवाहमा समेत कठिनाइ भएको छ। उक्त अवस्थालाई ध्यानमा राख्दै नेपाली सेनाको श्री वीरदल गण, पाँचथरबाट गणपति प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा फौज खटाई फेमे खोलामा अस्थायी फड्के पुल निर्माण कार्य सुरु गरिएको हो।
सेनानी अधिकारीका अनुसार, पुल निर्माण कार्य स्थानीयहरूको सहज आवतजावत सुनिश्चित गर्न सुरु गरिएको हो। “डाइभर्सन बग्दा जनजीवन प्रभावित भएकाले तत्काल मानवीय आवतजावत सहज बनाउन फड्के पुल निर्माण सुरु गरेका छौं,” अधिकारीले केन्जोखबरलाई बताए।
उनका अनुसार फड्के पुल सोमबार साँझसम्म निर्माण सम्पन्न हुने र मानिसहरू आवतजावत गर्न सक्ने गरी तयार पारिने छ। सो पुल पैदल यात्रीका लागि मात्र प्रयोग गर्न मिल्ने भएको छ।
पुल निर्माणपछि फिदिम–१०, ११, १२, १३ र फालेलुङ–६ र ७ वडाका स्थानीयहरू पुनः सदरमुकाम फिदिमसँग जोडिने भएका छन्।
स्थानीयहरूका अनुसार डाइभर्सन बग्दा अक्सिजन, औषधि, खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानीमा कठिनाइ आइरहेको छ। अस्थायी पुल निर्माणपछि पैदल आवतजावत सहज हुने र राहत सामग्री पु-याउन पनि सजिलो हुने अपेक्षा गरिएको छ।
फाेटाेहरु
भिडियाे
सोमबार, असोज २०, २०८२ मा प्रकाशित