विराटनगर । कोसी प्रदेश सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ प्रारम्भिक राहत उपलब्ध गराउने भएको छ । प्रदेशको इलाममा पहिरोमा परी सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको छ ।
कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रारम्भिक राहतस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराइने र घर निर्माण तथा मर्मतका निम्ति थप सहयोग गरिने बताए । उनले भने, “प्रदेश सरकारले संघीय सरकार र सुरक्षा निकायसँग समन्वय गरिरहेको छ ।”
मन्त्री भण्डारीले विपद्बाट परेको प्रभावका विषयमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी प्रदेश सरकारले राहत, उद्धार र अरू सहयोगका निम्ति समन्वय गरिरहेको बताए ।
“अहिले सुरक्षा निकायले नै अग्रभागमा रहेर खटिने हो, हामी प्रदेशका तर्फबाट हुन सक्ने सबै सहयोगका लागि तयारी अवस्थामा छौँ,” उनले भने, “प्रदेशसँग भएका विपद् सामग्री समेत सुरक्षाकर्मीलाई उपलब्ध गराइरहेका छौँ ।”
यसैबीच, मन्त्री भण्डारीले कर्मचारीसहित पुगेर कोसी ब्यारेजको निरीक्षण गरेका छन् ।