पाँचथर । लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएकाले फिदिमबाट वैकल्पिक रूपमा मध्यपहाडी लोकमार्ग हुँदै बिर्तामोडसम्म यातायात सञ्चालन गरिएको छ। पाँचथरको जोरसाल हुँदै तेह्रथुमको सग्रान्तीबजार, म्याङलुङ, बसन्तपुर, हिले, धनकुटा हुँदै धरान, इटहरी, दमक भएर बिर्तामोडसम्म वैकल्पिक रूपमा सवारी सञ्चालनमा आएको यातायात व्यवसायी प्रदीप केरुङले केन्जोखबरलाई जानकारी दिए।
उनका अनुसार बाटो लामो भएकाले फिदिमबाट बिर्तामोड पुग्न करिब १० घण्टा लाग्ने र यात्राको शुल्क प्रतिब्यक्ति दुई हजार रुपैयाँ तोकिएको छ। उनले अवरुद्ध सडक र यात्रुहरूको असुविधा ध्यानमा राख्दै वैकल्पिक मार्ग प्रयोग गरी सेवा सञ्चालनमा ल्याइएको बताए।
सडक डिभिजन कार्यालय इलामका अनुसार अहिले ताप्लेजुङदेखि पाँचथरको फिदिमसम्म यातायात सहज भए पनि फिदिमदेखि राँकेसम्मको सडक खण्डमा सवारी आवागमन एकतर्फी मात्र भइरहेको छ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार राँकेदेखि इलाम सदरमुकाम र माइखोला क्षेत्रमा धेरै ठाउँमा सडक भासिएको, पर्खाल भत्किएको र नाली बगाएको छ।
‘आजदेखि सडक मर्मत र खुलाउने काममा सक्रिय भएका छौं, सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,’ भट्टराईले केन्जोखबरसँग भने, ‘तर अहिलेको अवस्था हेर्दा पूर्णरूपमा सञ्चालनमा आउन चार/पाँच दिनसम्म लाग्ने देखिन्छ।’
मध्यपहाडी लोकमार्ग आयोजनाका सूचना अधिकारी राजनारायण सदरदारका अनुसार फिदिमदेखि तेह्रथुमको म्याङलुङसम्मको दुरी करिब १०२ किलोमिटर रहेको छ, जसमा करिब ६ किलोमिटर मात्र कच्ची सडक रहेको र बाँकी सबै पक्की सडक रहेको छ। उनका अनुसार हाल मध्यपहाडी लोकमार्गमा कतै पनि अवरोध छैन र सवारी आवागमन सहज रूपमा भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार मेची राजमार्गको फिदिम–राँके खण्डमा अझै जोखिम कायम रहेको र यात्रुहरूलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
सडक विभागका अनुसार मौसममा सुधार आएसँगै पहिरो पन्छाउने कार्य तीव्र बनाइएको छ र केही दिनमै मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।