कृष्ण दुलाल, (फाल्गुनन्द, पाँचथर) ।
असोज १८ गतेको रात, फाल्गुनन्द गाउँपालिकामा आकाशले आँसु झार्यो। त्यो आँसु पानी मात्र थिएन—किसानको पसिना, सपना, र आशा पनि थियो। मसिरको मिठासको प्रतीक्षा गरिरहेका खेतहरू एकै रातमा बगर बने।फेन्चे खोलाले आफ्नो धार फेर्यो।
फाल्गुनन्द वडा नं १ र २ को सिमाना हुँदै बग्ने खोलाले हरियालीले मुस्काएको खेतहरूमा बालुवा छर्यो। खोलाको गर्जनले खेत मात्र होइन, मन पनि थरथरायो। स्थानीय जेष्ठ नागरिकहरू सम्झन्छन्—“१९९० सालमा पनि यस्तै भएको थियो रे। तर अहिले त खोलाले नै बाटो बदल्यो।” कृषक उदय लुईटेलको आवाजमा पीडा छ। “सबै गोडमेल सकेर, अब त धान लिन मात्र जानु बाँकी थियो। तर बाढीले वर्षभरिको मिहिनेत एकै रातमा बगायो।”
उनको अनुमानमा करिब ६०० मुरि धान फल्ने खेत खोलाले बगाएको छ। मौसम पूर्वअनुमान शाखाले असोज १६ देखि २० गतेसम्म भारी वर्षाको चेतावनी दिएको थियो। तर असोज १८ गते राति आरिघोप्टे पानी परेपछि सिलौटी आसपासमा पहिरो गएका थिए। यही पहिरोले बाढी निम्त्याएको स्थानीयको आकलन छ।
त्यही रात, जोजनपुरमा महेन्द्र आङ्देम्बेको घर पहिरोले भत्कियो। ७२ वर्षीया सुकमाया आङ्देम्बे गम्भीर घाइते भइ जिल्ला अस्पताल पाँचथरमा उपचाररत छिन्। अर्जुन लुईटेलको घरमाथिबाट आएको पहिरोले भैंसी मारेको छ भने अन्य चौपाया उद्वार गरिएको छ।
प्रहरी चौकी नवमिडाँडाले घटनाको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको जनाएको छ।