पाँचथर । निरन्तर वर्षाका कारण पाँचथर जिल्लामा बाढी तथा पहिरोका घटनाले जनधनको क्षति पुर्याएको छ। घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको घरमा पहिरो खस्दा पुरिएर मृत्यु भएको हो। त्यस्तै, फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा १७ वर्षीय मिसेक नेम्बाङको ज्यान गएको छ। उनी थलीबहादुर नेम्बाङका छोरा हुन्।
घाइते हुनेमा मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की, फाल्गुनन्द–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे, र फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ रहेका छन्। उनीहरू पहिरोले लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए।
वर्षाका कारण जिल्लाका अधिकांश सडक क्षतिग्रस्त भएका छन्। मेची राजमार्ग, तमोर कोरिडोर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, फिदिम–फालोट सडक अवरुद्ध हुँदा घाइतेलाई सुविधासम्पन्न अस्पताल लैजानसमेत समस्या भएको छ।
सरकारी निकायहरूले सडक सञ्चालनका लागि मर्मत तथा सफाइका काम सुरु गरिसकेका छन्।
बाढीपहिरोले पाँचथरमा दुईको मृत्यु, तीन घाइते
बाढीपहिरोले पाँचथरमा दुईको मृत्यु, तीन घाइते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस