चितवन । ‘तिमीलाई धेरै म माया गर्छु है
ए माया, तिमीभन्दा म पहिले मर्छु है…’
साम्यक एन सबी नामको टिकटक एकाउन्टमा वैशाख ४ गते एउटा भिडिओ पोष्ट भएको छ। सविता भण्डारीले टिकटकमा अन्तिम पटक पोष्ट गरेको भिडिओ यही हो।
भिडिओ पोष्ट गरेकै दिन साँझ चितवन मेडिकल कलेजले सविताको मृत्यु भएको घोषणा गर्यो।
यो दुई महिनाको अवधिमा सविताको मृत्युको विषयमा युट्युब र सामाजिक सञ्जालमा अनेकथरी टीकाटिप्पणी आइरहेका छन्।
घाँटीमा पासो लगाएको अवस्थामा भेटिएकी सविताको मृत्युको आत्महत्या, आत्महत्या दुरूत्साहन वा हत्या के थियो? मानिसहरू आ-आफ्नै टिप्पणी राख्दै सामाजिक सञ्जालमा प्रस्तुत भइरहेका छन्।
केही युट्युब, टिकटक प्रयोगकर्ताले त अदालतले झैं एक पक्षलाई दोषी करार गरेर फैसला सुनाउने गरेका छन्। यस विषयमा अनेक खाले भिडिओ उनीहरू बनाउँछन्, कति सनसनीपूर्ण हुन्छन्, कति तथ्यविहीन।
सविताको मृत्युको विषयमा अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलमार्फत् जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिसकेको छ।
यता कोरोनाको डरलाई वेवास्ता गरेर दैनिक सयौं व्यक्तिहरू उनको न्यायका लागि भन्दै सडकमा उत्रिँदै आएका छन्।
सविताको न्यायको माग गर्नेहरूले श्रीमान, ससुरा, आमाजू (श्रीमानकी दिदी) मिलेर उनको हत्या गरेको आरोप लगाएका छन्। उनीहरूले सामाजिक सञ्जालमा भाइरल भएको सविता र ससुरा रमेश धितालको भिडिओ क्लिपलाई आधार बनाएका छन्।
के हो घटना ?
२८ वर्षीया सविता भण्डारी २०७१ सालको वैशाख ३ गते चितवन शारदानगरका योगेन्द्र धितालसँग विवाह बन्धनमा बाँधिएकी थिइन्।
दुबईमा रोजगारी गर्दै आएका योगेन्द्रको यो दोस्रो विवाह थियो। पहिलो विवाह सम्बन्धविच्छेदमा टुंगिएपछि योगेन्द्रले दोस्रो विवाह गरेका थिए।
विवाहको ३ महिनामै सविता योगेन्द्रसँग दुबई पुगिन्। गर्भवती भएपछि पाँच वर्षअघि उनी नेपाल फर्किएकी थिइन्। योगेन्द्र भने दुबईमै रोजगारी गर्दै आएका थिए। उनीहरूका पाँच वर्षीय छोरा साम्यक छन्।
योगेन्द्र गत वर्ष कोरोना महामारीबीच घर फर्किएका थिए। केही दिन क्वारेन्टिनमा बसेर घर पुगे। तर पतिपत्नीबीच सम्बन्ध चिसिइसकेको थियो। तै पनि उनीहरू सँगै बस्दै आएका थिए।
योगेन्द्रका वकिल रमेश काफ्लेका अनुसार गत वैशाख ३ गते वैवाहिक वर्षगाँठको दिन उनीहरूले भरतपुरको एक होटलमा बिताएका थिए। तर त्यसैको भोलिपल्ट अपरान्ह पौने ५ बजेतिर सविताको मृत्यु भयो। पासो बनाइएको सल काटेर अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो। भरतपुर अस्पतालमा भएको पोस्टमार्टमको रिपोर्टमा सविताको मृत्युको कारण झुण्डिनु रहेको उल्लेख छ।
अहिले के हुँदैछ ?
घटनाको भोलिपल्ट वैशाख ५ गते मृतकका श्रीमान योगेन्द्रले आफ्नी श्रीमतीको झुण्डिएर मृत्यु भएको भन्दै अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाइदिन माग गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका थिए।
उनको जाहेरीमा धेरै बेरसम्म चुकुल खोल भनेर ढोका ढकढक्याउँदा पनि नखोलेपछि जोडले धकेल्दा झ्यालमा झुण्डिएर छटपटाइरहेको उल्लेख छ।
त्यसपछि तरकारी काट्ने चक्कुले सल काटेर चितवन मेडिकल कलेज पुर्याउँदा उनको मृत्यु भएको जाहेरीमा उल्लेख गरिएको छ।
सोही दिन चितवन आइपुगेका मृतकका बुवा काठमाडौं-३२ कोटेश्वर बस्ने रामचन्द्र भण्डारीले पनि जिल्ला प्रहरीमा जाहेरी दिएका छन्।
उनले फुटकर (कसैलाई विपक्षी नबनाई) जाहेरी दर्ता गराएका थिए। यद्यपी जाहेरीमा आफ्नी छोरीलाई ज्वाइँ र उनको परिवारले शारीरिक /मानसिक यातना दिने गरेको उल्लेख थियो।
‘तर के कारणले मृत्यु भयो अनुसन्धान गरी पाऊँ’ भन्दै उनले प्रहरीमा जाहेरी दिएका थिए।
यसको केही दिनमा सवितालाई ससुरा रमेश धितालले यौन दुर्व्यवहार गर्ने गरेको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।
उक्त भिडिओमा सविताले ससुराको आँखामा औषधी राख्न लागेको देखिन्छ। सो समयमा ससुराले संवेदशील अंगमा हात लगेको देखिन्छ। सवितालाई त्यो बेला ससुराले यौनशोषण गरेको भन्दै कारबाहीको माग हुन थाल्यो।
मृतकका बुवाले सोही भिडिओ र केही फेसबुक च्याटको स्क्रिनसटसहित वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा दोस्रो पटक जाहेरी दर्ता गराएका थिए।
त्यतिखेर भने उनले छोरीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको भन्दै ज्वाइँ योगेन्द्रलाई प्रतिवादी बनाएका थिए।
जाहेरीमा ज्वाइँले मादकपदार्थ सेवन गरेर छोरीलाई कुटपिट गर्ने, ससुराले यौन हिंसा गर्ने गरेको र जानकारी दिँदा पनि श्रीमानले बेवास्ता गरेको, आमाजू भावना ढकालले दुबईमा काम गर्दा आएको सबै पैसा लिने र भाइलाई सविताविरूद्ध उक्साउने गरेको उल्लेख छ। लगत्तै प्रहरीले योगेन्द्रसँग बयान लिएको थियो।
रामचन्द्रले प्रहरीलाई बुझाएका स्क्रिनसट र भिडिओ मृतक छोरीले अर्की छोरी सजनी भण्डारीलाई फेसबुक म्यासेन्जरबाट घटना हुनुभन्दा ५ महिना अघि पठाएको बताएका छन्।
सजनीले दिदीले दाइजो नल्याएको, मोटी भएको, मादक पदार्थ सेवन गरेर गाली गर्ने गरेको, दुबईमा काम गर्दाको पैसा नदिएको, निद्रा लाग्ने औषधिलाई डिप्रेसनको औषधि भनेर खुवाउने गरेको, घरको कुरा बाहिर नलैजा भनेर आमाजूले धम्काउने गरेको जानकारी आफूलाई दिएको बयान दिएकी छन्।
ससुराले यौन हिंसा गरेको भनेको भिडिओ दिदीले २०७७ सालको भदौमै खिचेको उनले बताएकी छन्। उनले परिवारका सदस्यहरूको त्यस्तै गतिविधिका कारण आत्महत्या गरेको भन्दै जेठ ४ गते प्रहरीमा कागज गरेकी छन्।
प्रहरीमा बयान दिँदै मृतकका माइतीतर्फका आफन्तहरू कमला कार्की र नविनकुमार शाहीले परिवारका सदस्यहरूले गरेको हिंसाका कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन्।
मृतककी सासू भगवती शर्मा भुषाल, छिमेकीहरू बालकुमारी रानाभाट र प्रकाश रानाले भने श्रीमान, श्रीमतीको सम्बन्ध राम्रै देखेको दाबी गर्दै के कति कारणले आत्महत्या गरिन् खुलाउन सकिएन भनेका छन्।
उनीहरूले योगेन्द्रले सवितालाई कुटपिट गरेको थाहा नपाएको पनि बयानमा भनेका छन्।
प्रहरीले योगेन्द्रलाई वैशाख १७ गते पक्राउ गर्यो। जेठ ११ गते प्रहरीले योगेन्द्र, उनका बुवा रमेश र दिदी भावनाविरूद्ध हदैसम्मको सजाय माग गर्दै सरकारी वकिलको कार्यालयमार्फत् आत्महत्या दुरूत्साहनको मुद्दा चितवन जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।
त्यसपछि ससुरा रमेश धिताललाई जेठ १२ गते पक्राउ गरिएको थियो। आमाजू भावनालाई भने प्रहरीले पक्राउ गर्न सकेको थिएन। पछि उनी आफैं हाजिर भएकी थिइन्।
जेठ १४ गते थुनछेक आदेश दिँदै जिल्ला अदालतले योगेन्द्र र रमेशलाई एक/एक लाख र भावनालाई २५ हजार रूपैयाँ धरौटीमा छाड्न भनेको थियो।
अब वादी, प्रतिवादीहरूसँग अदालतले असार २८ गतेदेखि बयान लिनेछ। आत्महत्या दुरूत्साहन गरेको प्रमाणित भए प्रतिवादीलाई ५ वर्ष कैदसम्मको सजाय हुन्छ।
सविताको परिवार भन्छ-नियोजित हत्या हो
सविताकी बहिनी सजनी दिदीको हत्या भएको जाहेरी दिन पुग्दा प्रहरीले जाहेरी लिनै नमानेको बताउँछिन्।
‘आत्महत्या दुरूत्साहन भनेर जाहेरी दिनै पनि हामीलाई हम्मे भयो,’ उनी भन्छिन्, ‘प्रहरीले हामीलाई सुरूआतबाटै असहयोग गर्दै आएको छ। जाहेरी दर्ता भए पनि सबै पाटोमा अनुसन्धान गरेको छैन।’
उनले सविताको परिवारका सदस्य मिलेर हत्या गरिएको दाबी गरिन्।
सजनीका अनुसार सविता र योगेन्द्रको परिवारबीच सम्बन्ध बिग्रिएको एक वर्षभन्दा बढी भयो।
करिब एक वर्षदेखि सविताको माइतीको योगेन्द्रको परिवारसँग कुराकानी भएको छैन। परिवारका सदस्यले गरेको दुर्व्यवहारको विषयमा सविताले बहिनीलाई जानकारी गराउने गरेकी थिइन्।
उनीहरूले सल्लाहमै ससुराले गरेको दुर्व्यवहारको भिडिओ रेकर्ड गरेका थिए। भिडिओ रेकर्ड गरेको केही दिनमै गत भदौमा सविता काठमाडौंस्थित माइतीघर पुगेकी थिइन्।
काठमाडौंबाट उनीहरूले योगेन्द्रको परिवारलाई ससुराले गरेको दुर्व्यवहार र उक्त भिडिओको विषयमा जानकारी गराएका थिए।
सविता योगेन्द्रसँग सम्बन्धबिच्छेद गर्न चाहन्थिन्। सजनीका अनुसार त्यस विषयमा जानकारी पाएपछि आमाजू भावना र उनका श्रीमानले सवितालाई योगेन्द्रसँग सम्बन्धबिच्छेद गराइदिने र छोरा पनि सवितालाई नै दिलाइदिने वचन दिएका थिए। त्यही वचन अनुसार सविता मंसिरमा चितवन फर्किइन्।
‘तर घरमा उनीमाथि पहिलेकै जस्तो व्यवहार भइरह्यो,’ सजनी भन्छिन्, ‘३ महिना काठमाडौं बस्दा एउटा सिटामोल पनि खानु नपरेको मान्छेलाई जबर्जस्ती पागल बनाउने कोसिस गरियो।’
सविताकी सासू भगवती स्वास्थ्यकर्मी हुन्।
सरकारी सेवाबाट निवृत्त भएकी उनी स्थानीय एक क्लिनिकमा काम गर्थिन्। भगवतीले बुहारी डिप्रेसनको बिरामी रहेका कारण जुनसुकै दिनमा मृत्यु हुनसक्ने जानकारी टोल, वडा हुँदै प्रहरी चौकीसम्मलाई जानकारी गराएकी थिइन्।
भरतपुर-१९ का वडाध्यक्ष कर्णबहादुर गुरूङले केही महिनाअघि भगवतीले बुहारीको विषयमा आफूलाई पनि जानकारी गराएको बताए।
‘तर पछिल्ला दिनमा यस विषयमा खासै केही सुनेको थिइनँ, एक्कासि घटना भएपछि थाहा भयो,’ वडाध्यक्ष गुरूङले भने।
सजनीले दिदी डिप्रेसनको बिरामी छ भन्ने विषयमा माइतीलाई कसैले नभनेको बताइन्।
‘सबैलाई भन्दै हिँड्ने सासूले हामीलाई पनि भन्थिन् होला,’ उनले भनिन्, ‘नियतमा यहीँनेर खोट छ।’
उनले घटना भएको दिनमा योगेन्द्रले भान्जा भन्ने भावनाका भतिजा पनि सोही घरमा रहेको र घटनापछि सम्पर्कविहीन भएको जानकारी पाएको बताइन्।
‘यी सबै विषयमा जानकारी भएर पनि अनुसन्धानमा चासो नदेखाउनुले प्रहरीले हामीलाई असहयोग गरेको जस्तो लाग्छ,’ उनले भनिन्।
प्रहरी स्रोतले भने पोस्टमार्टम रिपोर्टले झुण्डिएर मृत्यु भनेको र हत्याको प्रमाण पनि केही नभएको अवस्थामा आत्महत्या दुरूत्साहनकै मुद्दा प्रभावकारी हुन्छ भनेर सुझाव दिएको बतायो र त्यही सुझाव मृतकको माइती पक्षले सहजै स्वीकार गरेको बतायो।
नजिकै घर भएकी ईन्दु गुरूङ नाति लिएर विद्यालय पुग्दा सविता छोरो लिएर पुग्थिन्। मृत्यु भएको दिन बिहान स्थानीय समाजसेवी टोल सुधार संस्थाले सरसफाइ कार्यक्रम राखेको थियो। सविता हातमा झाडू र हँसिया बोकेर सरिक भएकी थिइन्। टोलमा हुने गतिविधिदेखि बाटोतिर उनीहरूको भेट भइरहन्थ्यो।
‘बिहान हाँसेर कार्यक्रममा पुगेको मान्छे साँझ झुण्डियो भन्दा पत्यारै लागेन,’ उनले भनिन्।
खबर सुनेपछि उनी दौडिएर सविताको घरमा पुगिन्।
‘करिब दश मिनेटको दौरानमा सविताको घाँटीमा रहेको पासो काटीवरी गाडीमा चढाएर अस्पताल लैजान तयार भइसकेका थिए। मैले त उनलाई राम्रोसँग देख्न पनि पाइन,’ उनले भनिन्।
उनले कोठामा पुगेर हेर्दा ढोका, चुकुलमा कुनै क्षति नपुगेको देख्दाबाटै घटनाप्रति शंका लागेको बताइन्।
उनकाअनुसार सविता एउटै परिवारमा बस्दै आए पनि अन्य सदस्यबाट हेलामा पर्दै आएकी थिइन्।
श्रीमानले आवश्यक खर्च पनि नदिँदा उनले नजिकै रहेको एक पार्टी प्यालेसमा काम गर्ने र बालबालिकाहरूलाई होम ट्युसन पढाउने गरेको ईन्दुले बताइन्।
उनीहरूबीचमा सम्बन्धबिच्छेदको कुरा चलिरहेको गाउँका धेरैलाई थाहा थियो।
‘बुहारी डिप्रेसनको बिरामी रहेको विषयमा सासू भगवतीले टोल, वडा, प्रहरी चौकीमा पटक-पटक जानकारी गराएको बुझियो तर उनको समस्या समाधान गर्ने विषयमा उनीहरूले ध्यान दिएनन्,’ उनले भनिन्, ‘त्यसैको परिणाम यो अवस्था आएको हुनुपर्छ।’
प्रतिवादी भन्छन्-सविताले न्याय पाउँदा हामीमाथि अन्याय हुनहुन्न
अधिवक्ता काफ्लेले ७३ वर्षीय रमेश धितालको २०७४ सालको फागुन देखि २०७८ सालको जेठ ३ गतेसम्म आँखा अस्पतालमा बारम्बार उपचार भइरहेको दाबी गरे।
उनको एउटा आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। चितवन आँखा अस्पतालमा शल्यक्रिया गराएका उनले आँखामा नियमितरूपमा औषधि राख्नुपर्छ। ससुरा अशक्त रहेका कारण बुहारीले आँखामा औषधि राखिदिने गरेको काफ्ले बताउँछन्।
‘उनी आफैं अशक्त मान्छे भएकाले नियत खराब थियो भन्ने मलाई लाग्दैन,’ काफ्ले भन्छन्, ‘ससुराको आँखामा औषधि राख्नेक्रममा खिचिएको भिडिओले आत्महत्या गर्न दुरूत्साहन गर्यो भन्न मिल्दैन।’
अधिवक्ता काफ्लेकाअनुसार मृतक सवितालाई चितवन मेडिकल कलेजको मानसिक रोग विभागमा परीक्षण गराउँदा गत चैत ८ गते ‘मेजर डिप्रेसन’ भन्दै ५० एमजीको औषधि दिइएको थियो। फलोअपका लागि चैत १९ गते पुग्दा ‘मेजर डिप्रेसन डिस अर्डर’ भनेर १०० एमजीको औषधि दिइएको थियो। उनलाई अस्पतालले तीन हप्तापछि पुनः बोलाएको थियो। तर उनी अर्को फलोअपमा जान पाइनन्।
अधिवक्ता काफ्ले रमेश धिताल अशक्त र आँखा देख्न नसक्ने बिरामी हुनु र मृतक सविता डिप्रेसनको बिरामी हुनुले यो घटना आत्महत्या नै भएको दाबी गर्छन्।
भरतपुर–चनौली सडकखण्डमा पर्ने शारदा नगरमा नेपालकै सबभन्दा पुरानो सहकारी संस्था बहान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय छ। यही कार्यालयबाट करिब २०० मिटर परको दुई तले घर सविताको हो। उक्त घरअघि दिनहुँजसो प्रदर्शन हुन थालेपछि यस क्षेत्रमा बेला-बेलामा प्रहरीको उपस्थिति देखिन्छ। घरका सदस्यहरू भने मूल गेटमा ताला लगाएर भित्र बस्ने गर्छन्।
घरमै पुगेर कुरा गर्न खोज्दा परिवारका कोही पनि सदस्यसँग सम्पर्क हुन सकेन।
एक युट्युब च्यानलमा भेटिएको अन्तर्वार्ताहरूमा मृतककी आमाजू भावनाले सविताको मृत्युको विषयमा परिवारलाई दोष लगाउनु अन्याय भएको बताएकी छन्।
‘सविताले न्याय पाउनुपर्छ भन्नेमा हामी पनि छौं तर उनले न्याय पाउने हामीमाथि अन्याय हुने हुनुहुँदैन,’ उनले भनिन्, ‘सामाजिक सञ्जालले हामीलाई जबर्जस्ती अपराधी करार गरिरहेका छन्। हामीमाथि ठूलो अन्याय भएको छ।’
उनले फेसबुक, टिकटक, युट्युबमा आउने भिडिओले आतंकित बनाएको बताएकी छन्।
‘अक्सिजनको सहारा चाहिने ७३ वर्षीय बुवाको त्यस्ता खबर सुनेर के हालत हुने होला, म र मेरा छोरीहरू ती खबरले आतंकित भइरहेका छौं,’ उनले भनेकी छन्, ‘अदालतको फैसलालाई मान्छौं भनेर प्रशासनलाई निरन्तर सघाइरहँदा पनि हामी माथिको निरन्तर प्रहारले दुःखी बनाएको छ।’
उनले भ्युज बटुल्न र पैसा कमाउनका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताले मानवीय संवेदनामा खेलेर परिवारमा विग्रह ल्याउने काम गरेको बताइन्।
‘सविताको मृत्युले हामीलाई पनि ठूलो क्षति पुगेको छ,’ उनले भनिन्, ‘एकतर्फीरूपमा धारणा प्रस्तुत गरेर परिवारका सदस्यबीचमा दरार ल्याउने, यसलाई पैसा र चर्चा कमाउने अवसरकोरूपमा लिनु गलत हो।’
महिला अधिकारकर्मी भन्छन्- पूरक उजुरी हाल्नुपर्छ
महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरूले सविता भण्डारीको मृत्युसँगै गम्भीर सवालहरू उठेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
२१ वटा संस्थाका प्रतिनिधिहरूले लैंगिक हिंसा र त्यसमा पनि महिला भएकै कारण हत्या गरिने वा मृत्यु हुन बाध्य पारिने प्रथा, कुसंस्कारले सिंगो महिला वर्गलाई चुनौती दिइरहेको भन्दै यस्ता विषयमा गम्भीर हुन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका थिए।
‘हामीले प्रशासनदेखि कानून व्यवसायीसँग यस विषयमा छलफल गरेका छौं, मृतकको घर, माइती, स्थानीय सबैका कुरा सुन्दा यो घटना अनुसन्धानमा गम्भीर चासो राखिनुपर्ने खालको छ,’ यौनजन्य हिंसाविरूद्धको साझा अभियान चितवनकी संयोजक मिना खरेलले भनिन्, ‘माइती पक्षले हत्या नै हो भनेर दाबी गरिरहँदा प्रहरीले हत्याको उजुरी लिएर अनुसन्धान गर्न तयार हुनुपर्छ।’
उनले आत्महत्या दुरूत्साहनको मुद्दा अदालत पुगिसकेको अवस्थामा पनि पूरक उजुरी हाल्न मिल्ने कानूनी प्रावधानबारे छलफल चलिरहेको बताइन्।
‘कोरोना महामारीको प्रवाह नगरी दैनिक हजारौं महिलाहरू आन्दोलनमा उत्रनुभएको छ। सबैको आवाज सविताले न्याय पाउनुपर्यो भन्ने छ, प्रहरीले अनुसन्धानमा सहयोग गरेन भन्ने छ,’ उनले भनिन्, ‘कसैको दबाब, प्रभावमा नपरी घटनाको प्रकृति र संवेदनशीलतालाई हेरेर अनुसन्धान गरी फैसला गरियोस् भन्ने हाम्रो धारणा छ।’
उनले अदालतले निष्पक्ष न्याय दिनका लागि राज्य जिम्मेवार बन्नुपर्ने बताइन्।
प्रहरी भने बाहिर सुनिएजस्तो अनुसन्धानमा सहयोग गरेन भन्ने कुरा गलत भएको बताउँछ।
आत्महत्या दुरूत्साहनमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरी अभियोगपत्र दर्ता गराइसकेकाले अब अदालतको फैसला कुर्नुपर्ने जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए।
‘पोस्टमार्टम रिपोर्टले झुण्डिएको देखाएपछि उहाँहरूकै उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको हो। हामीले हाम्रो काम गरेर अदालत पठाएका छौं,’ थापाले भने।
उनले वादी, प्रतिवादीको बयानपछि अदालतले थप केही बुझ्न चाहे वा कसैलाई उपस्थिति गराउन आवश्यक देखे उपस्थित गराइदेऊ भनेर भन्न सक्ने र त्यो अवस्थामा प्रहरीले काम गर्ने उनले बताए। तर अदालत पुगिसकेको विषयमा पूरक उजुरी दिने विषयमा आफूलाई जानकारी नभएको उनले बताए।
सेताेपाटी