पाँचथर । पाँचथरको फिदिममा नव–निर्मित पान्थर फुटसलको औपचारिक उद्घाटनसँगै आयोजना गरिएको प्रथम पान्थर फुटसल प्रतियोगितामा खुला पुरुषतर्फ गुनु फेन्सी स्टोर फिदिम र भेट्रान्सतर्फ फिदिम भेट्रान्सले उपाधि हात पारेका छन्।
बुधबार सम्पन्न खुला पुरुष फाइनलमा गुनु फेन्सी स्टोरले लालिखर्क एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। विजेता टोलीले नगद ४० हजार रुपैयाँसहित ट्रफि प्राप्त गर्यो भने उपविजेता लालिखर्कले २० हजारमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड गुनु फेन्सीका गोलरक्षक सन्जोक नेम्बाङले पाए।
यस्तै भेट्रान्सतर्फको फाइनल खेलमा फिदिम भेट्रान्सले आयोजक पान्थर भेट्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जित्यो। फिदिमले नगद २० हजार प्राप्त गर्यो भने उपविजेता आयोजक टोलीले १० हजारमा सीमित रह्यो।
मैत्रीपूर्ण महिला खेलमा फिदिम भेट्रान्स क्लब विजयी हुँदा आयोजक टोली उपविजेतामा रह्यो। दुबै टोलीलाई नगदसहित पुरस्कृत गरिएको आयोजक समितिले जनाएको छ।
पान्थर फुटसलको औपचारिक उद्घाटन कार्यक्रममा जिल्लाका खेलकुदप्रेमी, स्थानीय सरोकारवाला र समुदायको सक्रिय सहभागिता रहेको थियो। फुटसल फिदिमका तीन युवा सागर जबेगु, रोधन केरूङ र मनोज केरूङले मिलेर निर्माण गरी सञ्चालनमा ल्याएका हुन्।