काठमाडौं । बौद्ध क्षेत्रमा रहेको मन्दिरको मूर्ति चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले चोरी गर्ने गिरोहलाई आइतवार मूर्ति चोरी गर्दै गरेको अवस्थामा फेला पारेको हो। गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा रहेको मन्दिरमा चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले बताए।
‘पछिल्लो समय मन्दिरको मूर्ति चोरी भइरहेको उजुरी आएपछि खोजी गरिरहेका थियौँ। हिजो मन्दिरमा नै चोरी गर्दा समात्न सफल भएका हौँ,’ डीएसपी कार्कीले भने। स्थानीयले मन्दिरको मूर्ति चोरी गर्न लागेपछि प्रहरीलाई खबर गरेका थिए।
पक्राउ पर्ने ओखलढुङ्गा लिखु गाउँपालिका घर भएर जोरपाटी जम्बुडाँडा बस्दै आएका ४२ वर्षीय अंकित घिमिरे र सर्लाही रामनगर गाउँपालिकाका ४६ वर्षीय धुवनारायण साह रहेका छन्। साह कवाडी पसल सञ्चालक हुन्। घिमिरेले चोर ल्याएको मूर्ति साहले पित्तलको दाममा किलाको दरले किन्ने गरेको खुलेको छ।
‘किलोको १५ सय रुपैयाँसम्म बेच्ने गरेको पाइयो। थप अनुसन्धान भइरहेको छ,’ डीएसपी कार्कीले भने। घिमिरेले असार ३ गते गोकर्ण नगरपालिका ७ दक्षिण ढोकाबाट गणेश र सिंहको मूर्ति चोरेका थिए। त्यस्तै, त्यसको एक दिन अघि सुन्दरीजलबाट कुमारी मन्दिरको कुमारीको मूर्ति चोरेका थिए। जेठ १० गते गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ उत्तर बाहिनीबाट राधाकृष्णको मूर्ति चोरी गरेको खुलेको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।