पाँचथर– रेड पान्डा संरक्षण अभियानलाई सहयोग पुर्याउनका लागि भन्दै इलाममा रेड पान्डा म्याराथुन हुने भएको छ । ४४ दशमलव २ किलोमिटरको दुरी कायम गरी उच्च पहाडी क्षेत्रसम्म म्याराथुन हुने भएको छ ।
समुदायमा आधारित रेड पान्डा संरक्षण कार्यक्रम अन्तर्गत म्याराथुन हुन लागेको हो । १ हजार २ सय २० मिटरदेखि ३ हजार ६ सय १० मिटर उचाईसम्म दौडीने गरी रेड पान्डा म्याराथुन इलाममा हुने भएको छ । आकर्षक पुरस्कार सहित हुने म्याराथुन असोज–४ गते हुने आयोजक दीप ज्योति युवा क्लबले जानकारी दिएको छ ।
गत वर्ष ताप्लेजुङमा रेड पान्डा म्याराथुन भएको थियो । क्लबका कार्यकारी निर्देशक सुनील बान्तवाका अनुसार इलाम चोक बजारबाट पर्यटकीय स्थल सन्दकपुरसम्मको म्याराथुन राखिएको छ । इलाम, पाँचथर र ताप्लेजुङमा समुदायमा आधारित रेड पान्डा संरक्षण कार्यक्रम सञ्चालन भईरहेको छ ।
पुरुष, महिला र स्थानीय गरि तीन श्रेणीमा प्रतिस्पर्धा हुने छ । स्थानीयमा इलाम, पाँचथर र ताप्लेजुङका धावक सहभागी हुन पाउने छन् भने बाँकी दुई विधा खुल्ला रहेको छ । महिला र पुरुष दुबै तर्फ प्रथम हुनेले १ लाख ५० हजारका दरले नगद पुरस्कार र ट्रफि पाउने छ । द्वितीयले १ लाख, तृतीयले ५० हजार र चाैथाे हुनेले ३० हजार रुपैयाँ नगद पाउने छ । यस्तै, स्थानीय तर्फको प्रथमले २५ हजार रुपैयाँ, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा प्राविधिक सहयोग नेपाली सेनाको रण शार्दूल गणले गर्दै छ । रेड पान्डा नेटवर्क र प्लेफर नेचरको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
(कभर फोटो एआइको सहयोगमा बनाइएको हो)