पाँचथर । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएल पाँचथरले साउन १ गतेदेखि सुरु गरेको केन्द्रको दुई महिनासम्मको श्रमदान अभियानलाई जिल्लाभर व्यापक रुपमा अघि बढाएको छ। अभियानअन्तर्गत वाइसिएलले बृक्षारोपणदेखि सरसफाइ, खेतीपातीमा सहयोग र विपन्न परिवारलाई घर निर्माणसम्मका कार्य सम्पन्न गरेको छ।
अभियानका क्रममा जिल्लाको फिदिम नगरपालिका र तुम्बेवा गाउँपालिकामा मात्र करिब १० हजार बिरुवा रोपण गरिएको अध्यक्ष गणेश तुम्रोकले जानकारी दिए। उनका अनुसार अभियानलाई वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान दिने उद्देश्यले जोडिएको छ।
वृक्षारोपणसँगै जिल्लाका आठै स्थानीय तहमा सडक, गुम्बा, मन्दिर र विद्यालय वरिपरिको सरसफाइ गरिएको छ। यसले स्थानीय समुदायलाई सफा सुग्घर वातावरणमा बस्न प्रोत्साहित गर्ने र सामाजिक सहकार्यलाई मजबुत बनाउने अपेक्षा लिएको अध्यक्ष तुम्रोकले बताए।
त्यसैगरी कृषि क्षेत्रमा समेत वाइसिएलको सक्रियता देखिएको छ। कुम्मायक गाउँपालिकामा सामूहिक बेसार खेतीमा गोडमेल गरी उत्पादकत्व बढाउन सहयोग गरिएको छ। फिदिम–६ मा बसोबास गर्ने वृद्ध परिवारलाई धान खेतीमा गोडमेल गरेर सहयोग गरिएको छ भने फिदिम–१ का आर्थिक रुपमा विपन्न अमृत नेपालीको घर निर्माणमा समेत वाइसिएल कार्यकर्ताले श्रमदान गरेका छन्।
अध्यक्ष तुम्रोकका अनुसार, “यो अभियान केवल देखावटी नभई साँच्चिकै जनताको जीवनसँग गाँसिएको अभियान हो। हाम्रा कार्यकर्ताले खेतमै पसिना बगाएका छन्, घर बनाएर सहयोग गरेका छन् र वातावरण संरक्षणमा योगदान दिएका छन्। यसले वाइसिएललाई जनतासँग प्रत्यक्ष जोड्ने काम गरेको छ।”
उनले असोजको पहिलो सातादेखि पाँचथरका आठै स्थानीय तहका टोल, बस्ती र चोकहरूमा लागुऔषधविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी समेत दिए। लागुऔषधको बढ्दो दुरुपयोगलाई रोक्नका लागि विद्यालय, युवा क्लब र सामुदायिक तहमा चेतना फैलाउने कार्यक्रम तय गरिएको छ।