सिरिजङ्घा, भदौ १६
सिरिजङ्घा गाउँपालिका–५, पेदाङ–होक्मा टोलमा गएको रातिदेखि निरन्तर खसेको पहिरोले एक परिवार पूर्ण रूपमा विस्थापित भएको छ। चिचिहाङ पुछारबाट खसेको पहिरोले हाङ्माया थुंगीम (ढाँड कालदिदी) को घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो।
स्थानीयको सहयोगमा विस्थापित परिवारका दुई घरधुरीमा रहेका पशुपंक्षीहरूलाई बिहानै उद्धार गरिएको छ। यद्यपि, अन्य केही घरहरूमा सामान्य क्षति पुगेको तथा झण्डै चार वटा घरहरू उच्च जोखिममा रहेको स्थानीय बासिन्दाहरूले बताएका छन्।
घटनास्थलमा हाल स्थानीयवासीहरू र वडास्तरीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको छ भने थप पहिरोको सम्भावनालाई मध्यनजर गर्दै सावधानी अपनाउन अपिल गरिएको छ।
सिरिजङ्घा क्षेत्र पहिरोको दृष्टिकोणले संवेदनशील मानिँदै आएको छ, जहाँ वर्षायाम सुरु भएसँगै यस्ता घटनाहरू दोहोरिरहने गरेका छन्।




