इलाम । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ (कोल्ड स्टोर) विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका ९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको सो कोल्ड स्टोर प्रयोगविहीन बनेको हो ।
कोल्ड स्टोर सञ्चालन गर्न सकिएमा यहाँ उत्पादिन फलफूल र तरकारीले राम्रो मूल्य पाउने किसानको भनाइ छ । सञ्चालन नहुँदा यहाँ उत्पादित तरकारी तथा फलफूल महँगोमा झापा, मोरङलगायतका जिल्लामा लगेर भण्डारण गर्नुपर्ने बाध्यता छ ।
इलाम नगरपालिकाले पटकपटक प्रयास गरे पनि कोल्ड स्टोर सञ्चालनमा ल्याउन नसकिएको जनाएको छ । २० लाख किलोग्राम क्षमताको कोल्ड स्टोर निर्माण गर्दा डिजाइनमा त्रुटि भएका कारण सञ्चालन गर्न नसकिएको नगरपालिकाको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले अहिलेको प्रविधि अनुसारको संरचना नभएकाले सञ्चालन गर्न नसकिएको बताएका छन् । कोल्ड स्टोर सञ्चालनमा ल्याउन यसलाई फरक तापक्रममा विभिन्न वस्तु राख्न मिल्ने ‘मल्टी च्याम्बर’ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
कोल्ड स्टोर पाँच करोड ४९ लाख ६७ हजार ६४६ मा २०६८ सालमा निर्माण गरिएको थियो । भारत सरकारको चार करोड ३९ लाख तीन हजार ८०८, नेपाल सरकारको ६७ लाख ५८ हजार ५४६ र इलाम नगरपालिकाको ४३ लाख पाँच हजार २९२ रुपैयाँको लागतमा उक्त कोल्ड स्टोर निर्माण गरिएको थियो ।




