पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ नुममार्गमा रहेकाे बसन्त लक्समकाे घरमा लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पाँचथर प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पक्राउ पर्नेमा कुम्मायक–४ का २७ वर्षीय रविन लिम्बु, मिक्लाजुङ–१ का ३२ वर्षीय सुमन लिम्बु र फिदिम नगरपालिका–४का २७ वर्षीय बसन्त लक्सम रहेका छन्।
उनीहरूलाई लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकासँग १ ग्राम १२० मिलिग्राम लागू औषध, प्लास्टिकको बोक्स ८१० मिलिग्राम, पोका–६, साथै रेडमी कम्पनीको २ थान र VIVO कम्पनीको १ थान गरी ३ वटा मोबाइल फोन बरामद गरिएको पाँचथर प्रहरीका सूचना अधिकारी ख्यामराज घिमिरेले जानकारी दिए।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।





