ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ३२ लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री भएको छ। भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न गोल्डकपमा कुल ३२ लाख ४६ हजार ७ सय रुपैयाँ बराबरको टिकट बिक्री भएको हो।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजना गरिएको यस संस्करणमा टिकट बिक्री ठेक्का प्रक्रियामार्फत गरिएको थियो। टिकट बिक्रीको ठेक्का मेरिङदेन गाउँपालिकाका विशाल लङ्वा लिम्बूले पाएका थिए।
समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार क्वाटर फाइनलमा नौ लाख ६१ हजार ५ सय, सेमिफाइनलमा सात लाख ८५ हजार २ सय र फाइनलमा मात्र १५ लाख रुपैयाँको टिकट बिक्री भएको हो।
क्वाटर फाइनलतर्फ पहिलो दिन ३ लाख २३ हजार ९ सय, दोस्रो दिन १ लाख ८५ हजार ५ सय, तेस्रो दिन २ लाख २८ हजार ५ सय र चौथो दिन २ लाख २३ हजार ६ सय रुपैयाँ बराबरको टिकट बिक्री भएको थियो। ती दिन क्रमशः ३ हजार २३९, १ हजार ८५५, २ हजार २८५ र २ हजार २३६ दर्शकले टिकट काटेका थिए।
त्यस्तै, सेमिफाइनलको पहिलो दिन १ हजार ६२५ दर्शकले टिकट काटी ३ लाख २५ हजार रुपैयाँ संकलन भएको थियो। वर्षाका कारण सो दिन अपेक्षाकृत कम टिकट बिक्री भएको बताइएको छ। दोस्रो दिन भने २ हजार ३०१ दर्शक उपस्थित भई ४ लाख ६० हजार २ सय रुपैयाँ बराबरको टिकट बिक्री भएको समितिले जनाएको छ।
फाइनलमा आयोजकले छापेको ६ हजारै प्रति टिकट बिक्री भएको थियो। प्रत्येक टिकट २५० रुपैयाँमा बिक्री भई कुल १५ लाख रुपैयाँ संकलन भएको हो। प्याराफिटको क्षमता अनुसार सीमित संख्यामा मात्र टिकट छापिएकोमा सो दिन दर्शकको चाप बढ्दा टिकट अभावसमेत भएको आयोजकले जनाएको छ।
यसअघि क्वाटर फाइनलका लागि १०० रुपैयाँ र सेमिफाइनलका लागि २०० रुपैयाँ टिकट दर निर्धारण गरिएको थियो। साथै, दैनिक टिकट काट्ने दर्शकमध्ये गोलाप्रथाबाट एकजनालाई स्मार्ट मोबाइल उपहारसमेत दिइएको थियो।
गत साउन २४ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल साउन ३१ गते सम्पन्न भएको हो। उपाधि गत वर्षको उपविजेता मधेश प्रदेशको सलहेश युवा क्लब, सिरहाले जितेको थियो। विजेता बनेको क्लबले नगद ७ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।