फिदिम — पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र अधिकारीले फिदिम नगरपालिका–१३, जेभालेस्थित सिंह सिद्ध आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोशाक वितरण गरेका छन्।
‘हाम्रो सहारा पाँचथर’को आयोजनामा गरिएको कार्यक्रममा अधिकारीले आफ्ना स्वर्गीय बुबा आमा हरिचरण र भद्रमाया अधिकारीको स्मृतिमा विद्यार्थीहरूलाई पोशाक उपलब्ध गराएका हुन्।
कार्यक्रमको समन्वय विद्यालय व्यवस्थापन समिति र हाम्रो सहारा पाँचथरका अध्यक्ष गजेन्द्र राईले गरेका थिए। पोशाक वितरण कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै शिक्षामा लगानी नै समाजको दिगो विकासको आधार हुने बताए।
राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, पत्रकार तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




