पाँचथर । नेपाल विद्युत् प्राधिकरण पाँचथर वितरण केन्द्रले भाेली शनिबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म जिल्लाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।
वितरण केन्द्रका अनुसार ११ के.भी. पौवा फिडरअन्तर्गत पर्ने लालिखर्क, पौवाभञ्ज्याङ, रानिटार, लुङरुपा, गुम्बाडाँडा, पौवारासारताप, रांके, इम्बुङलगायतका क्षेत्रमा सो अवधिभर विद्युत् आपूर्ति रोकिँदै छ।
उक्त फिडरअन्तर्गत पर्ने ११ के.भी. लाइनमा खर, बाँस, हाँगा, बिंगा काट्ने तथा बिग्रिएका इन्सुलेटरहरू परिवर्तन गर्ने काम हुने भएकाले विद्युत् अवरुद्ध गर्न लागिएको हो।
लाइन अवरुद्ध हुँदा उपभोक्ताले पाउने असुविधाप्रति प्राधिकरणले खेद प्रकट गरेको छ। साथै काम निर्धारित समयभन्दा अघि नै सम्पन्न भएमा विद्युत् आपूर्ति चाँडै सुचारु गरिने र त्यस्तो अवस्थामा उपभोक्तालाई पुनः जानकारी दिइने वितरण केन्द्रले जनाएको छ।





