पाँचथर । पाँचथरको हेवा खोलामा जडान गरिएको ७० मिटर लामो मोडुलर ब्रिजको बुधबार उद्घाटन भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले संयुक्त रूपमा पुल उद्घाटन गरेका हुन्। मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई जोड्ने गरी भारत सरकारको सहयोगमा पुल जडान गरिएको हो।
यसअघि निर्माणको क्रममा भाँचिएपछि भारतले प्राविधिक टोली पठाएर पुनः जडान गरेको थियो। उद्घाटन कार्यक्रममा राजदूत श्रीवास्तवले नेपाल–भारतको विशेष सम्बन्धअनुरूप सहयोग गरिएको बताए।
२०८० सालमा आएको बाढीले सो ठाउँको पुल बगाएपछि बनाइएको बेलिब्रिज पनि २०८१ असोजमा बाढीले बगाएको थियो। त्यसपछि मोडुलर ब्रिज निर्माण सुरु भएको हो। निर्माणको क्रममा भाँचिँदा तीन जनाको मृत्यु समेत भएको थियो।
भारत सरकारले उपलब्ध गराएका दश मोडुलर ब्रिजमध्ये हेवा खोलामा जडान गरिएको पुल सबैभन्दा लामो भएको मन्त्री दाहालले जानकारी दिए।




