दमक । आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी झापा दमककी ३० वर्षीया शोभाकुमारी साहको मृत्यु भएको छ ।
गएराति बीएण्डसी अस्पताल बिर्तामोडमा उनको मृत्यु भएको दमक प्रहरीले पुष्टि गरेको छ । दमक अस्पताल दमकमा सामान्य उपचारपीछ उनलाई धरान लगिएको थियो । धरानमा चिकित्सक नभएपछि उनलाई फर्काएर बीएण्डसी अस्पताल ल्याइएको थियो ।
हिजो दिउँसो ४ः३० बजे दमक १ भानुभक्त चोक बस्ने मनोज साहकी श्रीमती शोभाकुमारीले आफ्नै तीनतले पक्की घरको दोस्रो तलामा आफू सुत्ने कोठाको ढोका थुनेर पेट्रोल आफ्नो शरीरमा छर्की आगो लगाएकी थिइन् ।
छोरीसहित बेपत्ता भएकी शोभाकुमारीले करिव एक महिनापछि घर फर्किएर आत्मदाह गरेको खुल्न आएको छ । हिजै घर फर्किएर उनले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ ।
शोभा मनोजकी कान्छी श्रीमती हुन् । पहिलो श्रीमतीको निधनपछि मनोजले भारतको मुजफ्फरपुरबाट शोभालाई बिहे गरेर ल्याएका थिए । उनीहरूबीच केही समयदेखि घरायसी विवाद थियो ।
गत असार ३२ गते बिहान करिब ९ बजे शोभा मनोजकी जेठी श्रीमतीकी छोरी सुरभीलाई लिएर बेपत्ता भएकी थिइन्। मनोजले आमाछोरी बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए ।
आमाछोरी घरबाट बेपत्ता भएको ६ दिनपछि छोरी सुरभी भारत सिलिगुडीको सूर्यसेन पार्कभित्र एक्लै बसिरहेको अवस्थामा फेला परेकी थिइन्। शोभाले नै सुरभीलाई त्यहाँ छोडेर गएको पार्कको सिसी टिभी फुटेजको आधारमा प्रहरीले पहिचान गरेको थियो ।
छोरी फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी मनोजले छोरीलाई लिएर आएका थिए । तर, शोभा भने त्यहाँ फेला परेकी थिइनन् । उनी हिजो मात्र घर फर्केकी थिइन् ।




