ताप्लेजुङ । चर्च ब्वाईज क्लब ललितपुरले १–० गोलको सागुरो जित निकाल्दै ताप्लेजुङमा जारी तेश्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। पाहुना टोली शिलगुडी भारतको लिजेण्ड फुटबल एकेडेमीलाई हराउँदै चर्च ब्वाईजले दोस्रो चरणको यात्रा जारी राखेको हो।
खेलको १०औं मिनेटमा मनिष जर्गा मगरले गरेको गोल नै निर्णायक सावित भयो। भारतको टोलीबाट एक खेलाडीले रेड कार्ड पाएपछि उनीहरू १० खेलाडीमा सीमित भएका थिए, जसले चर्च ब्वाईजलाई सहज जित दिलाउन मद्दत पुग्यो।
विश्वास चौधरीलाई प्लेयर अफ दि म्याच घोषित गरिएको छ। प्रतियोगिताको आयोजक लाखे जात्रा संचालन समितिले बिजेतालाई नगद ७ लाख २ हजार ८२ रुपैयाँ र ट्रफी प्रदान गर्ने जानकारी दिएको छ भने उपबिजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार स्वरूप दिइनेछ।
भोली अन्तिम क्वार्टर फाइनल खेलमा सलहेश फुटबल क्लब सिराहाले फिदिम स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।