काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
सोमबार (साउन २६) दोलखा, सिन्धुपाल्चोक, डडेलधुरा, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र डोटी भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।
यस दिन बिहानको मापनमा कोसीको सहायक नदीको बहाव सतर्कता तह आसपास छ । नारायणी, वाग्मती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।