पाँचथर । खेलकुद मन्त्री तेजुलाल चौधरीले फिदिममा निर्माणाधीन दुईवटा बेवारिसे अवस्थामा रहेका खेलमैदान निर्माणका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। आइतबार जिल्लाको खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाउने विश्वास दिलाए।
उनले भने, “फिदिम रंगशाला निर्माण जिम्मा पाएको कम्पनीसँग आवश्यक भए ठेक्का तोडेर भए पनि काम पूरा गराउने छु। गत वर्ष बजेट अभावले काम अघि बढ्न नसकेको भए पनि आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्था गरेर निर्माणलाई तीव्रता दिने योजना छ।”
२०७७ फागुन १ गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गरेको फिदिम रंगशालाको कुल लागत १२ करोड १५ लाख ६६ हजार रुपैयाँ अनुमान गरिएको थियाे। ठेक्का पिएस–किरातेश्वर–मैनाचुली जेभीले १० करोड ६३ लाख ७५ हजारमा पाएको यो परियोजना १७ महिनाभित्र सक्ने लक्ष्यसहित सुरु गरिएको थियो। तर पटक–पटक म्याद थपिए पनि हालसम्म कार्यको भौतिक प्रगति केवल ३१.७५ प्रतिशतमात्र देखिएको छ।
२०७९ असार १५ भित्र सम्पन्न गरिनुपर्ने रंगशाला निर्माणको म्याद २०८० असार मसान्तसम्म थपिएको थियो। तर महालेखा परीक्षकको प्रतिवेदनले समयमै काम नसक्दा ठेकेदार कम्पनीविरुद्ध कारबाही गर्नुपर्ने उल्लेख गरेको छ, जुन प्रक्रिया अहिलेसम्म अघि बढ्न सकेको छैन।
यसैगरी, फिदिम–५ मा रहेको पाँचथर रंगशालाको निर्माण पनि स्थानीयले निःशुल्क दिएको ६२ रोपनी जग्गामा हुनुपर्ने भए पनि बजेट अभावका कारण रोकिएको छ। मन्त्री चौधरीले यसका लागि पनि आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्थापन गरिने स्पष्ट पारे।
मन्त्री चौधरीले जिल्लाको खेलकुद विकास र खेल मैदान निर्माणमा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै भने, “खेलकुदले युवाहरूलाई स्वस्थ र अनुशासित बनाउन सहयोग गर्छ। त्यसैले बेवारिसे खेलमैदान निर्माणलाई प्राथमिकतामा राखेर सबै स्रोत जुटाइनेछ।”