पाँचथर । पाथिभरा केवलकार निर्माण विरोधका क्रममा २०८१ माघ १२ गते भएको आन्दोलनमा गोली लागेर घाइते भएका मिक्लाजुङ–६ का १८ वर्षीय सगुन लावतीलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरले १२ हजार १ सय रुपैयाँ सहयोग गरेको छ।
रक्षाबन्धन र जनै पूर्णिमाको अवसरमा फिदिमस्थित हरिहंस भवन उद्घाटन समारोहमा कांग्रेसका पदाधिकारीहरूले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए।
लावती निम्न वर्गीय किसान परिवारमा जन्मिएका हुन् र उनका बुबा कृषिमा निर्भर छन्। उनी आन्दोलनको क्रममा गम्भीर घाइते भए पनि प्रारम्भिक उपचारमा सशस्त्र प्रहरीले सहयोग गरेको थियो। तर, अहिले उपचारका लागि प्रत्येक तीन महिनामा फल्लोअप गर्नुपर्ने भएकाले उपचार खर्च परिवारका लागि ठूलो चुनौती बनेको छ।
लावतीले भने, “देखावटी सम्मानले जीवन चल्दैन, जिम्मेवारी लिनुपर्नेमा कसैले चासो दिएको छैन।” उनले आन्दोलनमा घाइते भएका र मुद्दा परेकाहरू आफैंको खर्चमा मुद्दा लडिरहेका छन् र बारम्बार अदालत तथा जिल्ला प्रशासन कार्यालयमा तारीख धाइरहेका छन् भन्दै थप सहयोगको आवश्यकताको आवाज उठाए।
उपचार खर्चको अभावका कारण सगुन लावती अझै उपचार संकटमा रहेका छन् र राहत र सहयोगको अपेक्षा राखेका छन्।
शनिबार, साउन २४, २०८२ मा प्रकाशित