ताप्लेजुङ । लाखे जात्रा पर्वको अवसरमा आयोजना गरिएको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको मैदानमा सुरु हुँदैछ। तेस्रो संस्करणको रूपमा आयोजना भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ। उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङ र सुनसरी इटहरीको द योङ ब्रदर्स क्लबबीच प्रतिस्पर्धा हुने छ।
तेल्लोक क्लबले दुई विदेशी खेलाडी फोफोना र स्यामुइलसहित अनुभवी खेलाडीहरूलाई अनुबन्ध गरी पहिलो पटक फाइनलसम्म पुग्ने लक्ष्य लिएको छ। ब्रदर्स क्लबका प्रशिक्षक समर्पण मगरले पनि उद्घाटन खेलमा जित हात पार्ने दाबी गरेका छन्।
प्रतियोगितामा बागमती, गण्डकी, मधेश, कोशी प्रदेशका साथै भारतबाट पनि टोली सहभागी छन्। विजेताले सात लाखभन्दा बढी पुरस्कार राशि पाउनेछन् भने उपविजेताले पनि तीन लाख ५० हजार रुपैयाँसम्मको पुरस्कार पाउनेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीलाई बाइक र अन्य विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितामा क्वार्टरफाइनलसम्म टिकटको मूल्य एक सय, सेमिफाइनल दुई सय र फाइनल दुई सय पचास रुपैयाँ राखिएको छ। दस वर्षमुनि बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश सुविधा दिइएको छ। प्रतियोगिताको फाइनल साउन ३१ गते खेलिने आयोजकले जानकारी दिएका छन्।
ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता लाखे जात्रा पर्वको अवसरमा २०२९ सालदेखि भानुजन माध्यमिक विद्यालयको मैदानमा विभिन्न नाममा हुँदै आएको प्रतियोगिताको निरन्तरता हो।
शनिबार, साउन २४, २०८२ मा प्रकाशित