पाँचथर। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने पाँचथरकाे एक निर्माण सेवासहित २३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको हो।
विभिन्न सरकारी निकायहरूले सम्झौता बमोजिम काम नगरेको भन्दै यी कम्पनीहरूलाई कालोसूचीमा राख्न सिफारिस गरेका थिए। खरिद अनुगमन कार्यालयले यसअघि पत्राचार गर्दा पनि कम्पनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको हो।
सूचनाअनुसार, मिति २०८२ साउन २३ गतेबाट ७ दिनभित्र, अर्थात् साउन २९ गतेभित्र, कालोसूचीमा राख्न नपर्ने कुनै आधार र प्रमाण भए पेस गर्न भनिएको छ। तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार कालोसूचीमा राखिनेछ।