झापा । झापामा मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुईजना ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बुधबार राति ११ बजेतिर कमल गाउँपालिका–६ काटाचोक निवासी विष्णु प्रसाद बगालेको घरमा तलासी गर्दा प्रतिबन्धित औषधि फेला परेको थियो ।
उक्त घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३०००,डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २११० र स्पास्पेन २०५० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।औषधिसहित पक्राउ परेका घरधनी विष्णुप्रसाद बगाले र दमक नगरपालिका–६ थानारोडका गंगा बहादुर खड्कालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खड्का दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक हुन् ।