पाँचथर ।पाँचथरको याङवरक गाउँपालिका–१ स्थित बिरुवामा शुक्रवारदेखि बेपत्ता भएका दुई बालबालिका पाँच दिनपछि खोलामा मृत फेला परे ।मृतक १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राई दाजु–बहिनी हुन्। उनीहरू सधैंझैं शुक्रवार बिहान विद्यालय जान घरबाट निस्किएका थिए। तर त्यो दिन उनीहरू घर फर्किएनन्।
दाजु–बहिनी सम्पर्कविहीन भएपछि खोजी कार्य तीव्र पारिएको थियो। प्रहरी, स्थानीय बासिन्दा, आफन्त र जनप्रतिनिधिहरूको सक्रियतामा पाँच दिनसम्म खोलाका आसपास क्षेत्र, जंगल र बाटोका ठाउँ–ठाउँमा खोजी गरियो। अन्ततः सोमबार बिहान दुबै बालबालिकाको शव विरुवा खोलाको फरक–फरक स्थानमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै बालबालिका खोलामा बगेर मृत्यु भएको देखिएको छ।
“शवको अवस्था र भेटिएको स्थान हेर्दा खोलाले बगाएको जस्तो देखिन्छ, तर के कारणले घटना भयो भन्ने अझै यकिन भइसकेको छैन,” उनले भने। उनका अनुसार दुबै शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको छ। पोष्टमार्टमपछि मात्र वास्तविक कारण पुष्टि हुने बताइएको छ।
शिशिर र नानुमा अत्यन्तै कमजोर पारिवारिक पृष्ठभूमिमा हुर्किरहेका थिए। उनीहरूका आमा करिब ८ महिना अगाडि वैदेशिक रोजगारीका लागि बिदेश गएकी थिइन्। ३५ वर्षीय बुबा भने मादक पदार्थको लतमा फसेका स्थनियहरु बताउछन्। घरमा ८० वर्षीय बाजे, ७० वर्षीया बोजु र तीन वर्षीया कान्छी बहिनीसँगै उनीहरू बस्दै आएका थिए।
सानै उमेरमा विवाह, सानैउमेरमा सन्तान, आर्थिक संकट र आमाको वैदेशिक पलायन यी सबैले बालबालिकाको हेरचाहमा गम्भीर असर पारेको थियो। उनीहरू सधैं विद्यालय हिँड्ने गर्थे, तर सुरक्षा, माया र संरक्षणविना। त्यो शुक्रवार पनि उनीहरू विद्यालय जान निस्किए, तर फेरि कहिल्यै फर्किएनन्।याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राई भन्छन्, “आमाको मायाको अभाव, बुबाको लत, र घरको गरिबीले यी नानीहरू असुरक्षित अवस्थामा हुर्किरहेका थिए। सम्भवतः यिनै कारणले उनीहरूको जीवन यस्तो दु:खद मोडमा अन्त्य भयो।”