झापा । झापाको झापा गाउँपालिकामा एक वृद्धलाई रुखमा बाँधेर राख्दा ज्यान गएको छ। घटना संलग्न आरोपमा छोरा सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक झापा–१ लसुनाका ६० वर्षीय जतन सोरेन हुन्। मादक पदार्थ सेवन गरेका सोरेन मंगलबार राति करिब १०ः३० बजे छिमेकी महादेव टुडुको घरछेउ आइ काम्न थालेपछि उनीहरूलाई रुखमा बाँधिएको थियो।
स्थानीयहरूले घर नजिकै रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका जतन सोरेन बिहान करिब ४ बजे मृत फेला परेका थिए। प्रहरीले घटनापछि मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेनसहित ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका मध्ये तीन जना मृतकका छिमेकी हुन्।
प्रहरीका अनुसार केही व्यक्ति अझै फरार छन् र उनीहरूको खोजी कार्य जारी छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले यस घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।