पाँचथर । प्रसूति जटिलताका कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि पाँचथरकी एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।
तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया मुना कुरुम्वाङलाई उच्च रक्तचाप, शरीर सुनिने (प्रि-एक्लेम्प्सिया) र कम्पन हुने समस्याले थलिएपछि शनिबार अपराह्न हेलिकोप्टरमार्फत काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (थापाथली) पुर्याइएको हो।
गाउँपालिका अध्यक्ष बाबुराम खड्काका अनुसार मुनाको अवस्था जटिल बन्दै गएपछि स्थानीय स्वास्थ्य संस्थाले सुत्केरी गराउन नसकिने भन्दै तत्काल उच्च केन्द्रमा लैजान सिफारिस गरेको थियो।
“ हाम्राे निरन्तर प्रयास र जिल्ला प्रशासन कार्यालयको सिफारिसबाट राष्ट्रपति महिला हवाइ उत्थान कार्यक्रममार्फत सेनाको हेलिकोप्टर मगाइएको हो,” अध्यक्ष खड्काले भने, “म काम विशेषले काठमाडौंमै थिएँ, त्यसैले म पनि सोही हेलिकोप्टरमार्फत हाङगुम झरेको थिएँ।” मुनालाई उद्धारपछि थापाथली अस्पतालमा भर्ना गरिइएको र चिकित्सकीय निगरानीमा राखिएको बताइएको छ।
यसअघि पनि तुम्बेवा गाउँपालिकाका विभिन्न टाढाका बस्तीबाट सुत्केरी जटिलतामा परेका महिलाहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने गरिएको छ।