ताप्लेजुङ । सामान्य भनाभनले ज्यानै लिने रुवाउने घटनाको रूपमा ताप्लेजुङमा एक पारिवारिक घटना सार्वजनिक भएको छ। गमबुटको विषयमा भएको विवादले उग्र रूप लिएपछि आठराई त्रिबेणी गाउँपालिका–४ चाँगेमा दाइले आफ्नै भाइको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार २२ वर्षीय मनकुमार विकले २० वर्षीय भाइ रोशन विकलाई धारिलो हतियार (खुकुरी) प्रयोग गरी पेटमा प्रहार गरेपछि घटनास्थलमै रोशनको मृत्यु भएको हो।
प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमका अनुसार सामान्य विवादपछि आवेशमा आएका दाइ मनकुमारले भाइलाई खुकुरी प्रहार गरी निर्मम हत्या गरेका हुन्। घटनापछि फरार रहेका मनकुमारलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ।
अनुसार, दुवै दाजुभाइबीच गमबुटको विषयमा पहिले सामान्य भनाभन भएको थियो। त्यसै विवादक्रममा घटना हिंसात्मक बन्दै गएको र अन्ततः भाइको ज्यान जाने अवस्थामा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। गाउँमा भने पारिवारिक सम्बन्धमै हिंसा भएको भन्दै स्थानिय स्तरमा चिन्ता व्यक्त गरिएको छ।
शनिबार, साउन १७, २०८२ मा प्रकाशित