काठमाडौँ । कुख्यात गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइसहित पक्राउ परेका फिदिम नगरपालिका ५ का दिल कुमार तुम्बापोलाई प्रहरीले ४ दिनको म्याद थप गरी हिरासतमा राखेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सानुभाइसहित तीन जनालाई अनुसन्धान गर्न प्रहरीले मागेको म्याद स्वीकृत गर्दै ४ दिनको अनुमति दिएको हो। उनीहरू बिहीबार बिहान ठमेलको नर्सिङचोकस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ परेका थिए।
पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–५ का युवराज गुरुङ उर्फ सानुभाइ, फिदिम–५ का २६ वर्षीय दिल कुमार तुम्बापो, र नुवाकोट सूर्यगढी गाउँपालिका–२ का ३० वर्षीय रविन्द्र गुरुङ रहेका छन्।
तीनै जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा सोह्रखुट्टे प्रहरी वृत्तले अनुसन्धान अघि बढाएको छ।
सानुभाइमाथि यसअघि पनि आपराधिक घटनामा संलग्न भएको आरोप लाग्दै आएको छ भने फिदिमका दिल कुमार तुम्बापोको संलग्नता सार्वजनिक भएपछि स्थानीयस्तरमा समेत चर्चा सुरु भएको छ।
बिहिबार, साउन १५, २०८२ मा प्रकाशित