पाँचथर । अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालन हुने ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रममा पाँचथर जिल्लाका २७ विद्यालय छानिएका छन्। एन्फाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम यही साउन १५ गते काठमाडौंको दशरथ रंगशालामा कार्यक्रमको औपचारिक शुभारम्भ गरिनेछ।
कार्यक्रम अन्तर्गत पाँचथरबाट छानिएका प्रत्येक विद्यालयलाई २० वटा फुटबल प्रदान गरिने एन्फाले जनाएको छ।
पाँचथरबाट छानिएका विद्यालयहरूमा श्री रानीटार माध्यमिक विद्यालय, श्री सत्यहाङ्मा माध्यमिक विद्यालय, श्री सिद्धा देवी माध्यमिक विद्यालय, श्री कालिका आधारभूत विद्यालय, फिदिम माध्यमिक विद्यालय, श्री घुर्बेसी पञ्चमी मावि, श्री सरस्वती माध्यमिक विद्यालय, सराङको श्री दुर्गा मावि, आरुबोटेको श्री आरुबोटे मावि, दुर्दिम्बाको श्री भगवती मावि, सप्तमीको श्री युवा मावि, रबीको श्री दुर्गा मावि, कुरुम्बाको श्री सिंघ देवी मावि, श्री चण्डेश्वरी मावि, रबीकै श्री नव ज्योति बोर्डिङ स्कुल, लिम्बाको श्री सार्वजनिक मावि, श्री सिद्धेश्वरी मावि, नव ज्योति बि.सं., श्री दुर्गा मावि, समता स्कुल फिदिम, फिदिमकै श्री महादेव गुप्तेश्वर मावि, फिदिम–५ को श्री सरस्वती मावि, श्री भगवती मावि, फालेलुङ गाउँपालिका–८ का श्री सिद्धेश्वर आधारभूत विद्यालय, श्री सिंघा सिद्धदेवी माध्यमिक विद्यालय र श्री भृकुटी आधारभूत विद्यालय रहेका छन्।
देशभर ७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा फुटबल वितरण गरिनेछ। फिफा र युनेस्को को सहकार्यमा सञ्चालित यस कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासलाई लक्ष्य लिएको छ।
विद्यालयलाई फुटबल सामग्री वितरण गर्नुका साथै शिक्षक र प्रशिक्षकहरूलाई तालिम दिइनेछ। फुटबललाई शिक्षणको एक माध्यमका रूपमा प्रयोग गर्दै अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीपहरू सिकाउने उद्देश्य लिइएको छ।
एन्फाका अनुसार कार्यक्रम सबै वर्ग, जाति, लिङ्ग र भूगोलका बालबालिकालाई लक्षित गरी समावेशी र पहुँचयोग्य बनाइएको छ। विद्यालय शिक्षामार्फत फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।