झापा । झापाको दमकमा आइतबार बिहान मर्निङ वाकमा निस्किएका दुई महिलामाथि जंगली हात्तीले आक्रमण गर्दा एकजना गम्भीर घाइते भएकी छन् भने अर्कीको अवस्था मध्यम रहेको छ।
दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडकखण्डमा बिहान करिब ४ः१५ बजे मर्निङ वाकमा निस्किएकी ४७ वर्षीया सुनिता राई र ४२ वर्षीया कविता राईमाथि अचानक एक जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
हात्तीको आक्रमणबाट सुनिता राईको टाउको, आँखीभौं, दुबै खुट्टा, बाँया हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। बोल्न नसक्ने अवस्थामा रहेकी उनको अवस्था गम्भीर रहेको बताइएको छ।
कविता राईको भने बाँया खुट्टाको कुर्कुच्चामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
दुबै घाइतेलाई दमकस्थित अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरको आर्य न्यूरो अस्पताल रेफर गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
स्थानीयवासीका अनुसार उक्त जंगली हात्ती पेल्टिमारीतर्फबाट आएको हो। पछिल्ला दिनहरूमा दमक आसपासमा हात्ती देखिने क्रम बढेको छ, जसका कारण स्थानीयवासी त्रसित छन्।
प्रहरी तथा डिभिजन वन कार्यालयले बिहान र साँझको समयमा हिँडडुल गर्दा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेका छन्।
आइतबार, साउन ११, २०८२ मा प्रकाशित