झापा । धानको बीउ उखेल्दा उखेल्दै बिर्तामोडमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । शनिबार दिउँसो अन्दाजी १२ः३० बजे बिर्तामोड ७ को वडा कार्यालयनजिकै रहेको सम्प्राज लिम्बूको खेतमा धानको बीउ उखेल्ने क्रममा एक व्यक्तिको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिर्तामोड वडा नं ६ मंगलचोक बस्ने ५६ वर्षीय हेमप्रसाद रिजालको मृत्यु भएको हो । उनी अचानक ढलेर बेहोस भएपछि उपचारको लागि आफन्तले बीएण्डसी अस्पताल बिर्तामोड ल्याएको थिए ।
तर, उपचारका क्रममा दिउँसो १२ः५० बजे डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । यसअघि पनि बिर्तामोडमा धानको बीउ उखेल्दा उखेल्दै एकजनाको मृत्यु भएको थियो ।
गत असार ९ गते बिहान १० बजेतिर बिर्तामोड १० का जीवन पाठकको खेतमा बीउ उखेल्दा उखेल्दै शिवसताक्षी नगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षका धिरेन सन्थालको मृत्यु भएको थियो । छारे रोगको समस्या भएका सन्थाललाई बीउ उखेल्दा उखेल्दै रोगले च्यापेको बताइएको छ ।