पाँचथर । फालेलुङ गाउँपालिका–५ प्राङबुङ चोकमा प्राकृतिक विपद् पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ। बाढी, पहिरो र अत्यधिक वर्षाजस्ता सम्भावित जोखिमबारे पूर्व जानकारी दिन जडान गरिएको उक्त साइरनले स्थानीयवासीलाई समयमै सतर्क रहन सघाउने विश्वास लिइएको छ।
यो साइरन फिनिश रेडक्रसको करिब ७ लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको समन्वय तथा फालेलुङ गाउँपालिकामा सञ्चालित REDI परियोजनाको सहजीकरणमा स्थापना गरिएको हो।
साइरन जडान फालेलुङ–५ नं. वडाको औपचारिक अनुरोध र गाउँपालिकाको सिफारिसपछि गरिएको हो। यसले विपद् व्यवस्थापनमा समुदायको तयारी र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने र जनधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वडाध्यक्ष भरत कुमार खपाङ्गीले केन्जो खबर अनलाइनसँग कुरा गर्दै भने, “समयमै सूचना प्राप्त भएमा विपदबाट हुने सम्भावित क्षति घटाउन सकिन्छ। अब यो साइरनमार्फत बाढी, पहिरो तथा भारी वर्षाका जोखिमबारे समयमै जनतालाई जानकारी दिन सकिनेछ।”
प्राङबुङ जस्ता विपद् सम्भावित क्षेत्रका लागि पूर्वसूचना प्रणाली स्थापनालाई स्थानीय तहले प्राथमिकता दिँदै आएको छ। साइरन जडानसँगै फालेलुङको विपद् प्रतिकार्य क्षमतामा थप मजबूती आउने देखिएको छ।