पाँचथर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकाेस) पाँचथरले आफ्ना कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। मोरङको मिक्लाजुङ गाउँपालिका–२ का दुर्गामाया लिम्बु र माया मगरले ऋण असुलीको क्रममा साकाेस सेवा केन्द्र मधुमल्लाका कर्मचारीलाई अपशब्द गाली, हातपात गरी सार्वजनिक रूपमा अपमान गरेका थिए।
यस विषयमा साकाेसले बिहीबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा ध्यानाकर्षण पत्र बुझाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ। ध्यानाकर्षण पत्र बुझाउने टोलीमा सेवा केन्द्र फिदिमका प्रमुख अर्जुन पोख्रेल, कर्मचारी सन्तोष दर्जी र युवराज फुयल रहेका थिए।
इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दर्ता भइसकेको छ भने प्रहरीले दोषीको खोजी कार्य तीव्र बनाएको जनाएको छ। साकाेसले यस्तो घटना दोहोरिन नदिन समस्या समाधान गर्नुपर्ने बताएको छ।