पाँचथर । खेतीबालीमा बाँदरले मच्चाउँदै आएको आतंक नियन्त्रण गर्न पाँचथरको कुम्मायक गाउँपालिका–१ ले नौ जना बाँदर हेरालु स्वयंसेवक खटाउने निर्णय गरेको छ। कृषकको बाली सुरक्षित राख्न, वन्यजन्तुजन्य क्षति न्यूनीकरण गर्न र मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्न यो योजना ल्याइएको हो।
वडाध्यक्ष देबेन्द्र लावतीका अनुसार किसानहरू हरेक वर्ष बाँदरका कारण ठूलो क्षतिमा परिरहेका छन्। “बाली जोगाउन वडाको तर्फबाट सम्भव उपायको खोजीमा थियौं, अब बाँदर हेरालु स्वयंसेवक खटाउने निर्णय गरेका छौं,” उनले बताए।
९ जनाको यो टोलीले बिहान–बेलुका खेतबारी वरपर गस्ती गर्ने, बाँदर तर्साउने र आवश्यक सतर्कता अपनाउने काम गर्नेछ। उनीहरूलाई आवश्यक तालिम, उपकरण र कार्यअनुगमनको व्यवस्था वडाले नै गर्नेछ।