पाँचथर ।जिल्ला प्रहरी कार्यालय पाँचथरले कोशी प्रदेश प्रहरीको वार्षिक मूल्यांकनमा प्रदेशमै पहिलो स्थान हासिल गर्दै उदाहरणीय सफलता प्राप्त गरेको छ।
आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरूबीच कार्य सम्पादन सम्वन्धी मूल्यांकन गर्दा पाँचथर प्रहरीले ९४.६२ अंक प्राप्त गरी १४ जिल्लामध्ये सर्वश्रेष्ठ ठहरिएको हो।
यस उपलब्धिप्रति सम्मान प्रकट गर्दै कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्रशंसा पत्र प्रदान गरेको छ। उक्त प्रशंसा पत्रमा प्रदेश प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीको हस्ताक्षर रहेको छ।
पछिल्ला वर्षहरूमा पाँचथर प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सामुदायिक समन्वय र उत्तरदायीत्वमा आधारित सेवा प्रवाहलाई विशेष प्राथमिकता दिँदै आएको छ। यही प्रतिबद्धता र व्यावसायिक निष्ठाका कारण आज जिल्ला प्रहरी कार्यालय पाँचथर प्रदेशका लागि अनुकरणीय प्रहरी इकाइको रूपमा स्थापित भएको छ।