पाँचथर । लगातारको वर्षासँगै चिप्ला र हिलाम्मे हुँदै गएका सडकहरूलाई जोगाउन फाल्गुनन्द गाउँपालिकाले नयाँ कदम चालेको छ। अब गाउँपालिका भित्र ट्याक्टर, ट्रक लगायतका हेभी सवारी साधन केही समयका लागि रोकिएका छन्।
गाउँपालिकाको कार्यपालिकाको साउन ७ गते बसेको बैठकले राष्ट्रिय राजमार्ग बाहेकका मुख्य सडकहरू अहिले स्तरोन्नतिको चरणमा रहेकाले भारी गाडीले सडकमा थप क्षति पुर्याउने निष्कर्षमा पुग्दै यस्तो निर्णय गरेको हो।
सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले अर्को सूचना नआएसम्म भारी सवारी सञ्चालन नगर्न सबै सवारी चालक र धनीहरूलाई आग्रह गरेको छ। तोकिएको नियम उल्लङ्घन गर्नेहरूमाथि प्रत्येकपटक पाँच हजार रुपैयाँ जरिवाना तिराइने स्पष्ट चेतावनी पनि दिइएको छ।
सडकको सुरक्षाका लागि वडा कार्यालयहरू र प्रहरी चौकीहरूलाई निगरानीमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
स्थानीय सरकारको यो निर्णयले केही समयका लागि असहजता भए पनि दीर्घकालमा सुरक्षित र टिकाउ सडकको सुनिश्चितता गर्ने विश्वास गरिएको छ।