धरान । माओवादी केन्द्रका नेता तथा सांसद् सुदन किराँतीले सुनसरीको धरानमा बनाइएको आफ्नो सालिक कसैले नदेख्ने र नभेट्ने गरी गाडिदिन आग्रह गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका किराँतीले बुधबार बिहान सामाजिक सञ्जालमा घुमाउरो स्टाटस लेख्दै धरानमा निर्माण गरिएको आफ्नो सालिक कसैले नदेख्ने र कसैले कहिल्यै नभेट्ने गरि गाडिदिन स्थानीय सरकारसँग माग गरेका हुन्।
‘धरानमा मेरो सालिक बनाइदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु,’ फेसबुकमा उनले लेखेका छन्, ‘सबैमा स्मरण रहोस्, मलाई मेरो सालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन। साँच्चै भन्नुपर्दा मान्छेको सालिक बनाउने र सालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्ततः म विरोधी हुँ। फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छु र? त्यसैले त्यो बनाइएको सालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्नेगरि लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु।’
उनले अगाडि थप लेखेका छन्, ‘कुनैपनि विषयमाथि प्रतिकृया हेर्दा महसुस भयो कि, शब्दहरुले आफैँ आत्महत्या गरिरहेको छ। सामाजिक सन्जालमा विचार व्यक्त गर्दा स्वभाविक रुपमा दुनियाँसामु आफ्नो योग्यताको पनि मापन भइरहेको हुन्छ। त्यसैले सभ्य र स्तरीय टिप्पणी गर्दा हामी सबैका लागि स्वस्थ्यकर हुन्छ होला भन्ने टिप्पणीकर्ताहरुप्रति पनि विनम्रताको साथ सुझाव गर्दछु। धन्यवाद!’