पाँचथर । पाँचथर जिल्ला प्रशासन कार्यालयले प्रविधिक समस्याका कारण राहदानी सेवा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ। साउन ५ गतेदेखि सेवा अवरुद्ध भएको र अर्को सूचना जारी नहुँदासम्मका लागि सेवा प्रवाह ठप्प रहने स्पष्ट गरिएको छ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “राहदानी सम्बन्धी सेवा प्रवाहमा प्रविधिक समस्या देखिएकाले सेवा अस्थायी रूपमा बन्द गरिएको छ।” सेवाग्राहीलाई अन्योल नहोस भन्नका लागि सूचना सार्वजनिक गरिएको र समस्या समाधान भएपछि मात्र सेवा पुनः सञ्चालनमा ल्याइने उल्लेख छ।
राहदानीसँग सम्बन्धित थप जानकारी वा आवश्यक समन्वयका लागि राहदानी शाखाको फोन नम्बर ०२४–४२०८८८ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
राहदानी लिन तयारीमा रहेका सेवाग्राहीलाई वैकल्पिक व्यवस्था वा सूचना पर्खन सल्लाह दिइएको छ।





