पाँचथर । फिदिम नगरपालिका–१३ टिम्बुरेमा बिहिबार बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। विर्तामोडबाट डिजेल, ब्राण्ड दाना र सिमेन्ट लिएर फिदिम–१३ लुङरुपातर्फ आउँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
दुर्घटनामा चालक भवानी खतिवडाको टाउकोमा चोट लागेको छ भने राम सुवेदीको हातमा चोट लागेको छ। त्यस्तै, सवारीमा सवार आयुष लिम्बूको शरीरमा पनि चोट लागेको बताइएको छ।
घाइते तीनै जनालाई अस्थायी प्रहरी चौकी जल्पाबाट खटिएको टोलीले उद्दार गरी जिल्ला अस्पताल पाँचथर पुर्याएको थियो। खतिवडा र सुवेदीलाई थप उपचारका लागि विर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको छ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।




