पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ स्थित घुर्बिसे पञ्चमीमा निर्माणाधीन सेप्टि ट्याङ्कीमा काम गर्ने क्रममा चार जना श्रमिक बेहोस भएका छन्। बुधबार साँझ करिब ५:२० बजे घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको सेप्टि ट्याङ्की निर्माणका क्रममा बेहोस भएका हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फाक्तेपबाट प्रहरी निरीक्षक शेरबहादुर राईको नेतृत्वमा खटिएको ६ जनाको टोलीले स्थानीयवासी र जेसिबि मेसिनको सहयोगमा तीनै जनाको उद्दार गरेको थियो।
बेहोस भएका तीनै जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इलामतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए।
बेहोस हुनेमा वर्ष ३५ का रतन चेम्जोङ, ४० का विरू चेम्जोङ, २४ का भिष्म चेम्जोङ र ३० वर्षीय सन्तोष चेम्जोङ छन्। सन्तोषको अवस्था सामान्य रहेको भए पनि अन्य तीन जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लगिएकाे प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सेप्टि ट्याङ्कीमा अक्सिजन कम भएकाे कारण दुर्घटना भएको अनुमान गरिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।