काठमाडौं । बितेको तीन महिनामा विपद्का घटनामा परी देशभर ९३ जनाले ज्यान गुमाएका छन् । यो वर्षको वैशाख १ देखि असार ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यो अवधिमा रेकर्ड गरिएका दुई हजार १७७ विपद्का घटनामा परी ९३ जनाको मृत्यु भएको हो । ती घटनामा परी २२ जना बेपत्ता छन् ।
प्राधिकरणका अनुसार, चट्याङ लागेर २६, आगलागीमा परी १४, बाढीका घटनामा १३, जनावरको आक्रणमबाट १२, लेक लागेर ११, हावाहुरीका कारण आठ, पहिरो खस्दा ६, सर्पदंशबाट दुई र भारी वर्षाका कारण एकजनाको मृत्यु भएको छ । बेपत्ता भएका सबै २२ जना नै बाढीमा परेका प्राधिकरणले जनाएको छ ।
बितेको तीन महिनामा विपद्का घटनामा परी ४४५ जना घाइते भएका प्राधिकरणको तथ्यांक छ । विपद्का घटनाबाट यो अवधिमा चार हजार १३४ परिवार प्रभावित भएका छन् ।




