पाँचथर । बारम्बार बाढीले पुल बगाएपछि पाँचथरको हेवाखोलामा अन्ततः पेनस्टक पाइपको सहारामा सवारी सञ्चालन हुने भएको छ । तीनपटकको प्रयासपछि पनि पुल स्थायी रूपमा टिक्न नसक्दा सडक डिभिजन इलामले विकल्पको खोजी गर्दै पेनस्टक डाइभर्सन निर्माण गरेको हो ।
फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सिमानामा रहेको हेवाखोलामा यसअघि बनाइएका पक्की, बेलिब्रिज र मोडुलर पुल क्रमशः २०८०, २०८१ र २०८२ सालमा बाढीले बगाएको थियो। तेस्रोपटकको पुलसमेत जेठ ३१ मा भाँचिएपछि विकल्पका रूपमा यो उपाय अपनाइएको हो। अहिले ह्युम पाइपबाट बनेको डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको थियो । ठुलो वर्षाको कारण खोलमा बाढी आउदा पटक पटक यातायात ठप्प हुँदै आएको छ ।
डिभिजन प्रमुख पवन भट्टराईका अनुसार, यो पेनस्टक डाइभर्सन विशेष गरेर ताप्लेजुङका नागरिकहरुको बिशेष पहलमा निर्माण हुन लागेको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको समन्वयमा तीनवट जलविद्युत् आयोजना (हाइड्रोपावर) बाट पाइप उपलब्ध गराइएको हो। तीमध्ये ३.५ मिटर उचाइको एक थान र २.२ मिटर उचाइका तीन थान पेनस्टक पाइप प्रयोग गरेर डाइभर्सन तयार पारिएको छ। सडक विभागले ५,६ थान पेनस्टक माग गरेको भए पनि ४ थान मात्र प्राप्त भएको भट्टराई बताउछन् ।
आइतबार साँझ सम्ममा सवारीसाधन सञ्चालनमा आउने जानकारी भट्टराईले दिए। “पुल कहिले बन्ने हो टुंगो छैन, त्यसैले तत्कालको लागि पाइप डाइभर्सन नै उपयुक्त उपाय बनेको हो,” उनले भने।
प्राविधिकहरूका अनुसार, प्रति सेकेन्ड ७८ घनमिटर पानी सहजै पार गर्न सक्ने क्षमताको पाइप प्रयोग गरिएको छ। भट्टराईका अनुसार, गत जेठ ३१ क्षति भएको मोडुलर पुलको क्षतिग्रस्त सामाग्रीहरु भारत सरकार सँग सँग जि टु जि ( सरकार देखी सरकार) प्रकृयाबाट माग गरिएको छ । तर मागिएका सामाग्रीहरु कहिले आउने टुङगो छैन् । भट्टराइका अनुसार भारतबाट एक हप्ता भित्रमा पुलको सामाग्रीहरु आउछ भने अपुष्ट जानकारी प्राप्त भएको तर आधिकारीक जानकारी आएको छैन् । एक हप्तामा भारतबाट सामाग्रीहरु आए पनि पुल जोड्न २२/२५ दिन लाग्ने भएकाले पनि यातायात सहजताको लागी पेनस्टक पाइपको सहारामा सवारी सञ्चालन गर्नु परेको भट्टराइ बताउछन् ।
ह्यूम पाइपबाट बनेको डाइभर्सन सानो बाढी आउदा पनि जोखीम हुने हुदाँ पेनस्टक पाइपको डाइभर्सन प्रभावकारी हुने अनुमान रहेको भट्टराइले केन्जोखबर लाई बताए ।
स्थायी संरचना नहुँदा ताप्लेजुङ र पाँचथरका याङवरक, हिलिहाङ र फालेलुङ गाउँपालिकाका बासिन्दा लामो समयदेखि सास्ती खेप्दै आएका थिए। पेनस्टक डाइभर्सनले उनीहरूलाई केही राहत मिल्ने आशा गरिएको छ।




